Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी

चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दैनिक ४ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । आयोजनाका अधिकारीहरुका अनुसार आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ । जसबाट आयोजनाले दैनिक ४ करोड रुपैयाँ बराबरको विद्युत बिक्रि गरिरहेको छ । आयोजनाले २०७८ भदौ ४ गतेदेखि ४ वटा युनिटहरू र सोही महिनाको २५ गतेदेखि बाँकी २ वटासमेत ६ वटै युनिटहरूबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । 

आयोजनाका उपप्रबन्धक विमल गुरुङका अनुसार कुनैदिन प्राविधिक कारणले केही घण्टा विद्युत उत्पादन कम भएपनि चौबिसै घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ । ‘वर्षा प्रारम्भ भएपछि तामाकोशी नदीको बहाव डिजाइन डिस्चार्जभन्दा बढी आएसँगै कुनै कुनै दिन प्राविधिक कारणले केही घण्टा विद्युत उत्पादन कम भएपनि हाल २४ सै घण्टा पूर्ण क्षमता (४५६ मेगावाट) मा विद्युत उत्पादन भइरहेको छ, उनले भने ।’ उनका अनुसार वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदा दैनिक औसत ४ करोड रुपैयाँ आम्दानी आयोजनाले गरिरहेको छ । 

हिउँदमा पनि पुर्ण क्षमतामा विद्यूत उत्पादन गर्न भने रोल्वालिङ खोलाको पानी आयोजनामा मिसाउनुपर्ने हुन्छ । बाह्रै महिना पूर्ण क्षमतामा विद्यूत उत्पादन भए सेयर लगानीकर्ताहमरुले ४/५ वर्षभित्र मुनाफा लिने अनुमान गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार आयोजनाबाट उत्पादित विद्युत औसतमा ४.६ रुपैयाँमा बिक्रि हुने गर्दछ । हिउँदमा ६ रुपैयाँ ९६ पैसा र बर्खामा ३ रुपैयाँ ६३ पैसामा विद्युत बिक्री गर्ने गरी प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकहरुसँग हिउँदमा ८ रुपैयाँ ४०  पैसा र बर्खामा ४ रुपैयाँ ८० मा किन्ने गरी खरिद बिक्रीको सम्झौता गर्ने गरेको छ । 

यद्यपी तामाकोसी आयोजनाले सस्तोमा विद्युत खरिदबिक्री सम्झौता गरेरपनि वार्षिक बिजुली बेचेर अर्बौंको आम्दानी गर्ने क्षमता राख्छ । आयोजनाले वार्षिक २२८१ गिगावाट (बिक्रीयोग्य) विद्युत उत्पादन गर्न सक्छ । यो करिब २ अर्ब २८ करोड युनिट हो । औसतमा ४.६ रुपैयाँका दरले बेच्दा वार्षिक करिब ९ अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्न सक्छ । प्राधिकरणको नाफामा यो आयोजनाको महत्वपूर्ण योगदान छ । 
    
यो आयोजनाले ड्राइ सिजनको स्थानीय माग व्यवस्थापनका लागि महत्वपूर्ण भुमिका खेलेको छ । तामाकोसीबाट उत्पादित विजुली भारतिय बजारमा बिक्रि गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update