Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेश : अधिकांस सिटमा गठबन्धनभित्र सहमति, दोलखा/रामेछाप माओवादी र कांग्रेसलाई

काठमाण्डौं - सत्तारुढ गठबन्धनका दलहरु बाग्मती प्रदेशका अधिकांस जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट बाँडफाँडमा सहमति नजिक पुगेका छन् । ती सिटहरुमा गठबन्धनले अन्तिम टुंगो लगाउन भने बाँकी छ । लामो कसरतपछि काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० नम्बर निर्वाचन क्षेत्र कांग्रेसलाई छोड्न अन्य दल सहमत छन् ।

७ नम्बर क्षेत्रमा जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दलले सहमति जनाएका छन् । काठमाण्डौं २ मा कांग्रेससँगै माओवादीको दाबी छ भने ९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी कायमै छ ।

नेताहरुका अनुसार भक्तपुरको दुबै क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिने समझदारी बनेको छ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीले आ आफ्नो अडान छाडेका छैनन् । 
स्रोतका अनुसार काभ्रे र सिन्धुपाल्चोक दुबै जिल्लाको क्षेत्र नम्बर १ माओवादी र २ कांग्रेसको भागमा परेको छ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा कांग्रेसको भागमा परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा कांग्रेसको मात्र दावी छ ।

यसैगरी नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा कांग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा.प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भनेका छन् ।

सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिनेछ । स्रोतका अनुसार रामेछाप कांग्रेस र दोलखामा माओवादीले लिनेमा नेताहरु सहमति नजिक छन् । चितवनको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update