काठमाडौँ - स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार साउनयता मंगलबारसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७५ जिल्लामा फैलिइसकेको डेंगुबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । असोज अन्तिमसम्म अझ ठूलो जोखिम रहेको र २०१९ को भन्दा पनि बढी केस देखिन सक्ने उनले बताए । ‘लामखुट्टे नियन्त्रण नभई डेंगु नियन्त्रण हुँदैन । पानी परिरहेकै छ, त्यसैले मौसम नै अहिलेको चुनौती बनेको छ,’ उनले भने, ‘समुदायमा जनचेतना प्रवाह भइरहे पनि धेरै ठाउँमा लापरबाही छ ।’ अहिले डेंगुको अवस्थालाई महामारीभन्दा पनि प्रकोप भन्न मिल्ने उनले बताए ।
डेंगुबाट १० जिल्ला उच्च जोखिममा परेका छन् । राजधानी काठमाडौं, ललितपुर, भक्तपुरसहितका जिल्लालाई ईडीसीडीले उच्च जोखिममा राखेको हो । ललितपुरमा ३ हजार ७ सय ९३, काठमाडौंमा २ हजार ५ सय ६९, मकवानपुरमा १ हजार १ सय १२, रूपन्देहीमा ५ सय ९४, दाङमा ३ सय ७८, भक्तपुरमा २ सय २०, धादिङमा १ सय ४०, तेह्रथुममा १ सय १२, काभ्रेपलाञ्चोकमा १ सय २९ र चितवनमा १ सय ७९ वटा केस पुष्टि भएका हुन् ।
तथ्यांकअनुसार यी १० जिल्लामा मात्र ९ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ३ सय ४७, मधेसमा १ सय ९८, वाग्मतीमा ८ हजार ३ सय ९०, गण्डकीमा २ सय २४, लुम्बिनीमा १ हजार ४ सय २१, कर्णालीमा १ सय ६२ र सुदूरपश्चिममा ३ सय २३ वटा केस रहेका छन् ।