चरिकोट – नेपाली कांग्रेस दोलखाले जिल्लाको प्रतिनिधिसभा तर्फको एउटा मात्र सिट आफुले पाउनुपर्ने दाबी गरेको छ । विगतको तुलनामा कांग्रेसको शक्ति सुदृढ भएको भन्दै उसले संघको सिट नपाए गठबन्धनलाई चुनाव जित्न अप्ठ्यारो हुने बताएको छ । सभापति बर्मा लामाले दोलखामा प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले पाएमात्रै जित सुनिश्चित रहेको बताए ।
रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै सभापति लामाले गत स्थानीय तहको निर्वाचनमा व्यक्त भएको जनमत र कांग्रेसको संगठन सुदृढ भएकोले दोलखाको प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले पाउनुपर्ने तर्क गरे । ‘गत स्थानीय तहको निर्वाचन परिणामले कांग्रेस जिल्लामा सदृढ भएको प्रमाणित भैसकेको छ, लामाले भने, ‘संघको सिट कांग्रेसले पाएमात्रै गठबन्धनको जित सहज हुन्छ ।’
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बनिरहेका बेला सभापति लामाको यस्तो धारणा राखेका हुन् । सभापति लामाले दोलखामा कांग्रेसको अवस्थाबारे पार्टी नेतृत्वलाई पटक पटक ध्यानाकर्षण गराएको भन्दै संघतर्फको सिट कांग्रेसले पाउने सम्भावना धेरै रहेको दाबी पनि गरे ।
दोलखामा मतदाता संख्याको हिसावले एमाले अझै पहिलो दल रहेको तितो सत्य भएको भन्दै उनले संघको टिकट कांग्रेसले नपाउने र प्रदेशको पनि एउटा मात्रै सिट पाउँदा कांग्रेस निकट मतदाताले भोट हाल्ने वातावरण नबन्ने टिप्पणी गरे ।