Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संवाद : ‘टिकट गुमाउँदा कुनै असन्तुष्टि छैन, कुनैदिन पार्टीले मुल्यांकन गर्छ भन्ने विस्वास छ’

६ कात्तिक, दोलखा । वाम गठबन्धनबाट दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र (ख) तर्फ अन्ततः नेकपा एमालेको तर्फबाट नेता पशुपति चौलागाईलाई टिकट दिईएको छ । नेता बालकृष्ण शिवाकोटीले टिकट पाउने निश्चित भैसकेको चर्चाकाबीच फरक खालको निर्णय सार्वजनिक भएको हो । टिकट गुुमाएपछि नेता शिवाकोटी असन्तुष्ट रहेको र निर्वाचनमा भूमिकाका सन्दर्भमा पनि कतिपयले संशय व्यक्त गर्छन् । टिकटबारे पार्टीको निर्णय र निर्वाचनमा उनको भूमिकाका सन्दर्भमा शिवाकोटीसँग गरिएको संक्षिप्त सम्वादको सम्पादित अंश..

लगभग पक्काजस्तै भएको टिकट गुमाउनुपर्दा कस्तो लाग्यो ? 
कहिलेकाँही पार्टी जिताउन, परिबर्तन संस्थागत गर्नका लागि यस्तो हुन्छ । कार्यकर्ता र मतदाताको तहमा कस्तो छ, मलाई थाहा छैन तर हामीले पोलिट व्युरो सदस्य, सिनियर नेता प्रदेशसभामा आउँछु भनेपछि जिल्लाको, क्षेत्रको लागि राम्रो हुन्छ र मुख्यमन्त्रीको रुपमा पनि प्रस्ताव भएको हुनाले उहाँलाई छोड्दा हामीलाई कुनै आपत्ती छैन । यो पार्टीले गरेको निर्णय हो, राम्रो छ भन्ने लागेको छ । 
होईन होला, यत्रो ठुलो अवसर गुमाउँदा केही न केही पिडाबोध भएको हुनुपर्छ ?  
व्यक्तिगत रुपमा हेर्दा त तपाईलाई त्यस्तो लाग्ला, तर समग्र पार्टीका लागि, पार्टीले जित्नुपर्छ, जति सिनियर नेता आए त्यत्ति राम्रो हुन्छ भन्नेकुरा हामीले बुझेका छौँ । त्यसले गर्दा व्यक्तिगत रुपमा टिकट पाईयो भनेर अन्तिम अवस्थामा नपाउँदा केही दुख लाग्नेकुरा सामान्य र स्वभाविक हो, यो मानविय स्वभाव पनि हो, यसलाई अन्यथा मान्नुपनि हुँदैन । तथापी हाम्रो सिनियर लिडरलाई हामीले २ नम्वर क्षेत्रमा पाएका छौँ । त्यसैले दुख मान्नुपर्ने कुनै कारण छैन । 
अहिले छोडेकोमा पश्चाताप गर्नुपर्छ भन्ने मलाई लाग्दैन । पार्टीले समयमा मुल्याङ्कन गर्छ भन्ने मलाई विस्वास छ । अब धेरै साथीभाईलाई निर्णय भैसकेको हो कि भन्ने भैसकेको थियो । त्यस्तो अवस्थामा धेरै साथीहरुलाई पिडा अवश्य भएको छ । म उहाँहरुलाई के भन्न चाहन्छु, भने यो पार्टीले गरेको निर्णय हो । यसलाई सामान्य रुपमा लिएर पार्टी जिताउन लाग्नुपर्छ । 
यो त यहाँको औपचारिक प्रतिक्रिया मात्रै भयो नी । भित्रि असन्तुष्टि त, स्वभाविक रुपमा धेरै छ नी ?  
मलाई माया गर्ने कार्यकर्ता जनतालाई त्यस्तो लाग्नु एकदम सामान्य कुरा हो । किनभने मलाई धेरै कार्यकर्ता र मतदाताले धेरै माया गरेका थिए । मैले कतिपय ठाउँमा सुनेको थिएँ, यसपाली दुई नम्वर क्षेत्र, प्रदेशसभा ख मा बोल्न सक्ने हो भने गाईबस्तुले समेत भोट हाल्छु भन्थे होलान्, अबस्था यस्तोसम्म भएको थियो । त्यसले गर्दा यो किसिमको माया गर्ने कार्यकर्तालाई यस्तो लाग्नु एकदम सामान्य कुरा हो । तर मैले केही पाउँछु भनेर म पार्टीमा लागेको होईन, गर्दै जाँदा आएका चिजहरुलाई प्रयोग गर्नुपर्छ, त्यसमार्फत पनि जनताको केही सेवा गर्न सकिन्छ की भन्ने लागेको हो । 
अव मान्छेले सोचेको जस्तो यो नपाउँदाखेरी के के न हुन्छ भन्ने विल्कुल होईन । पाउनका लागि लागेको भए चाँही बहुत दुख लाग्थ्यो होला । गर्दै जाँदा पाईन्छ भन्ने कुरा हो, त्यसैले यो कुनै ठुलो चिज होईन । मैले केही गुमाएको त छैन नी । पाएको चिज गुमाएको भएपो पिडा हुन्थ्यो त । 
पार्टीले दोलखाको प्रदेशसभा (ख) मा टिकट दिनका लागि स्थायी कमिटिमा धेरै छलफल भयो । पार्टीका शिर्षस्थ नेताका बीचमा बालकृष्णपनि त्यहाँ छ, भन्ने किसिमले अर्थात मेरा बारेपनि धेरै कुराकानीहरु भए । त्यो नै मेरा लागि गर्बको विषय हो, त्यो नै मैले कमाएछु, आम कार्यकर्ता जनताका बीचमा वालकृष्ण चाहिन्छ भन्ने भो, नेताका बीचमा बालकृष्ण चाहिन्छ भन्ने भो, प्राविधिक रुपले बालकृष्णले नपाएको हो । त्यसैले मलाई कहीँ असन्तुष्टि छैन । कार्यकर्ता, जनतामा जे अपेक्षा थियो त्यो चाँही पुरा हुन सकेन त्यसमा मात्रै मलाई अलिकति पिडा भएको छ । नभए एक रत्ति पिडा छैन । 
तपाईप्रति शुभेच्छा प्रकट गर्ने धेरै कार्यकर्ता र मतदाताहरुमा पार्टीले गलत निर्णय गर्यो भन्ने होला, असन्तुष्टि होला, उनीहरुलाई के भन्नुहुन्छ ? 
सबभन्दा पहिलो कुरो त, उहाँहरुले जुन किसिमको मप्रति सद्भाव देखाउनुभयो, त्यसका लागि हार्दिक धन्यबाद । म उहाँहरुको मनको नेता भएँ, उहाँहरुले मन पराएको मान्छे भएँ । यो मेरा लागि गौरबको कुरा हो । म उहाँहरुका निमित्त के गर्नुपर्छ, म पदमा रहँु नरहुँ, म पक्का गर्छु । त्यसैले कोही निराश हुनु पर्दैन । तपाईको मिडिया मार्फत यो भन्न चाहन्छु की बालकृष्ण तपाईहरुको साथमा छ, हिजो जति थ्यो त्यो भन्दा बढ्ता ढंगले तपाईहरुको साथमा रहनेछ । त्यसो भएको हुनाले तपाईहरुले कुनै किसिमको असन्तुष्टि व्यक्त गर्नु पर्दैन पार्टीले जित्छ, पार्टीलाई जिताउनका लागि लाग्नुस्, म त्यो आग्रह गर्न चाहन्छु । 
टिकट गुमाउँदा पनि यसरी सन्तुष्ट व्यक्त गर्नुको पछाडी अरु कुनै कारणले पो काम गरेको छ की ?
होईन, मैले असन्तुष्टि नै जनाएको छैन, कसरी सन्तुष्टिको प्रश्न आउँछ । असन्तुष्टि जनाएको भएपो अहिले आएर सन्तुष्टि जनायो यसको केही पो हो की भन्ने कुरा आउँछ । मलाई पार्टी अध्यक्षले फोन गरेर भन्नुभयो, पार्टी निर्णय यस्तो भयो, सोही अनुसार काम गर्नुपर्छ भन्नुभको छ । म त गर्ब गर्छु, एउटा कार्यकर्तालाई  यस्तो हुन्छ, यसो गर भनेर पार्टी अध्यक्षले भन्नुहुन्छ, पार्टीका बरिष्ठ नेताहरुले भन्नुहुन्छ, महासचिवले भन्नुहुन्छ भनेपछि मैले कहाँ असन्तुष्टि व्यक्त गरेँ र ? मैले असन्तुष्टि व्यक्त गरेको कसैले भन्न सक्छ र ? केही पनि असन्तुष्टि व्यक्त गरेको छैन । म पार्टीले जे निर्णय गर्छ, त्यसमा सन्तुष्टि व्यक्त गर्ने मान्छे हुँ । 
त्यसो भए निर्वाचनमा तपाईको भुमिका कस्तो रहन्छ त ?
मेरो भुमिका नेकपा एमाले र बामपन्थी गठबन्धनबाट जो उम्मेदवारका रुपमा आउनुभएको छ, उहाँहरुलाई जिताउन पार्टीले दिएको भुमिका, निति निर्देशन पुर्ण रुपमा, अक्षरस् पालना गरेर, विजय गरेर, दोलखामा तीन वटै सिटमा बामपन्थी गठबन्धनलाई जिताउन कुनै कसर बाँकी नराखि सहयोग गर्नेछु । 
भनेपछि चुनावका तपाईको भुमिकामा कुनै शंंका छैन ?
एकदमै छैन । कसैलाई आत्मा सन्तुष्टिका लागि यसले यसो गर्यो भनेर भन्छ भने केही भन्नु छैन । मैले व्यक्तिगत रुपमा सवै कार्यकर्ता साथीहरु, सबैलाई भनिसकेको छु । नोमिनेसन अगाडी केही कुराहरु हुन्छन्, प्रतिस्पर्धा भयो, सबैचिज नोमिनेसनपछि सकियो । अव हामी एमालेलाई जिताउन जो आएपनि एउटा पात्र हो, भनेर मैले स्पष्ट पारिसकेको छु । त्यही काममा त्यहीदिन देखिनै म लागिरहेको छु । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update