Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका संघीय र प्रदेश सांसदले गरे वाम गठबन्धनबाट चुनाव जितेको स्मरण

चरिकोट – पुर्वमन्त्री एवं संयीय सांसद पार्वत गुरुङ र प्रदेश सांसद एवं वन तथा वातावरण मन्त्री विशाल खड्काले वाम गठबन्धनबाट सँगै चुनाव लडेर जितेको स्मरण गरेका छन् । अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट चुनाव जितेको स्मरण गर्दै उनीहरुले जिल्लाको विकास निर्माणको लागि मिलेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

पर्यटकीय नगरी जिरीमा बिहिवार आयोजित एक कार्यक्रममा सँगै देखिएका गरुङ र खड्काले साझा घोषणा पत्र लिएर चुनाव जितेको र जनताले दिएको पाँच वर्षको म्याण्डेड भुल्न नहुने धारणा राखे । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा जिल्लामा गुरुङ संघीय र खड्का प्रदेश निर्वाचन क्षेत्र (क) तर्फ निर्वाचित भएका थिए । 

कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य समेत रहेका गुरुङले फेरीपनि वाम गठबन्धन गरेर दोलखाबाट नयाँ सन्देश दिउँ भन्ने प्रस्ताव नै राखे । ‘दोलखाको फरक खालको राजनीतिक ब्राण्ड नै स्थापित छ, अहिलेको खिचडी गठबन्धनले देशलाई बर्वादीतिर लग्यो, त्यसैले यो निर्वाचनमा पनि वाम गठबन्धन गरेर नयाँ सन्देश दिउँ, गुरुङले भने ।’

सांसद एवं माओवादी केन्द्रका नेता खड्काले दुवै जनालाई पाँच वर्षका लागि जनताले एउटै म्याण्डेड दिएको चर्चा गर्दै कार्यकाल सकिएपछि एउटै कार्यक्रम गरेर बिदा हुने ईच्छा रहेको सुनाए ।  

कार्यक्रममा पूर्वमन्त्री गुरुङले आफुलाई जिताएर दोलखाली जनताले ठुलो ऋण लगाएको र त्यो तिर्न बाँकी रहेको बताए । आफु अब सांसद भएपनि नभएपनि जनताको उक्त ऋण तिर्न सँधै लागिपर्ने प्रतिवद्धता पनि उनले जनाए । चुनौती र प्रतिकुलताका बावजुत दोलखाको विकास र समृद्धिका लागि थुप्रै राम्रो काम गर्ने प्रयास गरेको तर जनताको शिर झुक्ने काम नगरेको गुरुङको भनाई छ ।

‘दोलखाली जनताले मलाई गरेको विस्वासमा खेलबाड गरेको छैन, शिर झुक्ने काम गरेको छैन, केही कमी भयो होला तर राम्रो काम गर्ने प्रयास अवश्य गरेको छु, उनले भने, समृद्ध दोलखाली, सुखी दोलखाली बनाउन सँधै लाग्नेछु ।’ जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, जलविद्युत, पर्यटन लगायतका पूर्वाधार विकासका लागि आफुले गरेको कतिपय पहल सफल भएको र कतिय पुरा हुन बाँकी रहेको गुरुङको भनाई छ । 

कार्यक्रममा पुर्वमन्त्री गुरुङले दोलखा जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । यस्तै वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले जिरी नगरपालिकालाई साक्षर नगर घोषणा गरेका छन् । 

जिरी नगरपालिकाका मेयर मित्र जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, पुर्व जिल्ला समन्वय प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बिभिन्न विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update