काठमाण्डौ – प्रहरीले काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदका लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ । भदौ १६ गतेदेखि भदौ २० गतेसम्म ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताउनुभयो । खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रुपैयाँ रहेको छ ।
लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।