Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च

काठमाडौँ - वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन बढ्न थालेको छ । साउन महिनादेखि उक्त संख्या झन्डै दोब्बर भएको तथ्यांकले देखाएको छ । हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भइरहेको वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

कार्यालयका अनुसार साउनमा मात्रै ६३ हजार ४२ जनाले वैदेशिक रोजगारीमा जान अनुमति (श्रम स्वीकृति) लिएका थिए । जसमा ६ हजार २ सय ४१ महिला छन् । व्यापार घाटाले संकटमा परेको अर्थतन्त्रलाई उद्धार गर्न वैदेशिक मुद्रा पठाउने यी युवाप्रति राज्यले भने प्रभावकारी नीति बनाउन सकेको छैन । 

श्रम स्वीकृति लिनेहरूमध्ये पहिलो पटक अन्तर्राष्ट्रिय श्रम बजारमा जानेको संख्या ६८ प्रतिशत छ । बिदामा आएर फेरि सोही कम्पनीमा फर्किने ३२ प्रतिशत छन् । वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसियाबाट उच्च माग आएकाले वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको बताए । उनका अनुसार साउनमा सबैभन्दा बढी मलेसियामा २४ हजार ४ सय ८४ जना गएका छन् ।

कतारमा १२ हजार ५ सय ७०, यूएईमा ८ हजार १ सय ४०, साउदी अरबमा ६ हजार ७ सय ५ र कुवेतमा ४ हजार २ सय ८४ जना गएका छन् । असार मसान्तसम्म सबैभन्दा बढी कामदार जाने देश साउदी अरब थियो । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ३० प्रतिशत साउदी गएका थिए । 

भदौमा पनि विदेश जानेको प्रवाह उच्च छ । दोस्रो सातासम्म २७ हजारले श्रम स्वीकृति लिइसकेका छन्, जसमा सबैभन्दा बढी मलेसियाका लागि १२ हजार ५ सय ६१ जना छन् । ‘मलेसियामा आकर्षण एकदमै बढेको छ, माग पनि उच्च छ, अरब क्षेत्रमा गएका नेपाली पनि मलेसिया जानका लागि फर्किरहेका छन्,’ प्रमुख अर्यालले भने, ‘मलेसियाको न्यूनतम तलब खाडीका देशभन्दा उच्च छ । त्यहाँ न्यूनतम तलब १५ सय रिंगेट (४२ हजार रुपैयाँ) तोकिएको छ ।’

मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले रोजगारदाता कम्पनीहरूले कामदारको माग ल्याउन थालेकाले विदेश जानेको संख्या पनि ह्वात्तै बढेको बताए । ‘कोभिडको समयमा कामदार आपूर्ति प्रक्रिया रोकिएको थियो, नेपाललगायत स्रोत देशबाट आएका कामदार फर्किर्एका थिए, कामदार अभाव छ,’ उनले भने, ‘अहिले अन्य स्रोत देशबाट भन्दा नेपालबाटै बढी कामदार लगिरहेका छन् ।’

कोरोना संक्रमणपछि खस्किएको वैदेशिक रोजगारीको क्षेत्र गत आर्थिक वर्षदेखि नै लयमा फर्किन थालेको हो । गत आर्थिक वर्ष ६ लाख २८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या ५ वर्षपछिको बढी हो । गत आर्थिक वर्ष रेमिट्यान्समार्फत १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ४.८ प्रतिशत बढेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update