चरिकोट – नेकपा एमाले दोलखाले जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनक लागि बाहलवाला सांसदसहित प्रत्यक्ष र समानुपातिक गरी १६ जनाको नाम सिफारिस गरेको हो ।
संघीय निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनेहरुमा पूर्व मन्त्रीहरु आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खड्का, पुर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, केन्द्रीय सम्पर्क समन्वय कमिटीको अध्यक्ष श्याम बस्नेत, पूर्व जिल्ला कमिटी सचिव भरत दुलाल रहेका छन् ।
यो पटकको प्रतिनिधिसभा निर्वाचनमा दोलखामा एमालेका पुराना र नयाँ दुबै अनुहारहरु आकांक्षी देखिएका छन् । पार्टीका पोलिट व्यूरो सदस्य रहेका पोखरेल र गुरुङ राष्ट्रिय राजनीतिमा स्थापित प्रभावशाली नेताहरु हुन् । एमालेबृत्तमा पार्टीले उनीहरु मध्ये एक जनालाई टिकट दिने अनुमान छ ।
समानुपातिक कोटाबाट प्रदेश सांसद बनेकी पुराना नेतृ सरस्वती बस्नेत सामाजिक विकास मन्त्री बनिसकेकी छन् । विद्यार्थी राजनीतिबाट उदायकी नेतृ रचना खड्काले बाग्मती प्रदेश सरकारको अर्थमन्त्रीको रुपमा छाटो अबधी काम गर्ने अवसर प्राप्त गरेकी थिईन् । उनी बैचारिक क्षमता भएकी नेतृत्वको रुपमा स्थापित छिन् ।
तामाकोसी गाउँपालिकाको अध्यक्ष भैसकेका पुर्व जिल्ला अध्यक्ष पोखरेल हाल प्रदेश कमिटीको तर्फबाट जिल्ला सह ईन्चार्जको भूमिकामा छन् । बस्नेत डोरमणी पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्षको भूमिका थिए । शैलुङ गाउँपालिकाको पुर्व अध्यक्ष दुलाल पार्टीको जिल्ला अध्यक्षमा पराजित भएपछि प्रदेश कमिटीको सदस्यमा मनोनित भएका नेता हुन् ।
यसैगरी संघको समानुपातिक तर्फ ईश्वरी रिजाल, जितबिर लामा, उर्मिला थामी, दिव्यध्वज कार्की, रोचकुमारी चौलागाई, शारदा राना भुजेल, सहदेब खड्का, हर्कमान पाख्रिनको नाम सिफारिस गरिएको छ ।