Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ एमालेबाट १५ जना उम्मेदवार सिफारिस (नामावलीसहित)

चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ १० जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटी दोलखाको सोमवार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरी प्रदेश र केन्द्रमा पठाउने निर्णय गरेको हो । जसमा प्रदेश कमिटी सदस्यहरु लालकुमार केसी, वालकृष्ण शिवाकोटी, भरत केसी, डबल पाण्डे र कैलाश श्रेष्ठ रहेका छन् । 

पुर्व जिविस सभापति केसीले अघिल्लो निर्वाचनमा पनि प्रदेशसभा (ख) को प्रत्यक्ष सांसदमा दाबी गरेका थिए । तर टिकट नपाएपछि उनले पार्टी छाड्ने अप्रिय निर्णय गरेका थिए । उनी हाल पार्टीको सल्लाहाकार सदस्यको भूमिकामा छन् । यो पटक पार्टीले न्याय गर्ने उनको आषा छ । 

यसैगरी शिवाकोटी अघिल्लो निर्वाचनमा अन्तिम अबस्थामा टिकट गुमाउनु परेको भन्दै यो पटक जसरी पनि टिकट लिने मनस्थितिमा छन् । उनी पार्टीको वाग्मती प्रदेश कमिटीको सदस्य र उद्योग व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष हुन् । 
भीमेश्वर नगरपालिकाको पुर्ब मेयर भरत केसीपनि प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ सिफारिस भएका अर्का उम्मेदवार हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको मेयरमा दोहोरिन चाहेका थिए । जिल्लाबाट सिफारिस भएपनि प्रदेश कमिटीले निर्णय परिवर्तन गर्दै अर्कैलाई टिकट दिएपछि प्रदेशको टिकट आफुले पाउनुपर्ने उनको दाबी छ । 

पुर्व जिल्ला समन्वय समिति प्रमुख पाण्डेले पनि प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ सशक्त दाबी प्रस्तुत गरेका छन् । यसैगरी समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गर्ने निर्णय भएको नेकपा एमाले दोलखाले जनाएको छ । जसमा चिरञ्जीवि मास्के, कालिका पाठक, ठुला थामी, कृष्णकुमारी थामी, थिर बहादुर मोक्तान, दिनेश बस्नेत, टेक बहादुर घतानी, पार्वती खड्का, डा. जानुका न्यौपाने र कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update