चरिकोट – दोलखाको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तर्फ पुर्वमन्त्री एवं बहालवाला सांसद पार्वत गुरुङको उम्मेदवारी घोषणा भएको छ । सोमवार बसेको एमाले जिल्ला कमिटी बैठकले गुरुङलाई जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारका लागि पहिलो नम्बरमा राखेर पार्टी केन्द्रमा सिफारिस गरेको हो ।
गुरुङसंगै पोलिट ब्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, इश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, भरत दुलाल लगाएतका आकाङ्क्षी नेताहरूको नाम जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकमा घोषणा गरे । गुरुङ प्रतिनिधिसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखाको बहालवाला सांसद हुन् । बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा पार्टीलाई बिजय गराउन जस्तोसुकै परिस्थितिको समना गर्न अग्रपंक्तिमा खडा हुने प्रतिबद्धता जनाए ।
यो पनि पढ्नुहोस् : गुरुङले राजनीतिमा स्थापित गरेको पहिचान र ‘ब्यालेट’ संघर्ष
२०७४ सालको निर्वाचनमा गुरुङ निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्कालाई भारी मतान्तरले पराजित गर्दै निर्बाचित भएका थिए । गुरुङ कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाएर बिजय भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा गुरुङले देशकै सबैभन्दा फराकिलो ३० हजार १५३ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । दोलखाको उत्तरी भूभाग गौरीशंकर गाउँपालिका ५ सुरीमा जन्मिएका गुरुङ एमालेका पोलिट ब्युरो सदस्य र वाग्मती प्रदेश कमिटी सह–ईन्चार्ज हुन् ।
गुरुङ जिल्लामा सबैभन्दा बलिया उम्मेदवार मानिन्छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि उनलाई चुनाव लड्नुपर्ने दबाब छ । पार्टीबाट टिकट प्राप्त भए उनी फेरी चुनाबी मैदानमा उत्रने सम्भावना छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालय र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा उनले सफल नेतृत्व गरेका थिए ।
वामपन्थीको पकड रहेको दोलखामा ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ र ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेको थियो । त्यसबाहेकका निर्वाचनमा जिल्लामा एमाले हावी हुँदै आएको छ ।