चरिकोट – नेकपा एमालेले दोलखामा जनसंगठन ब्युँताउन थालेको छ । एमालेले माओवादी केन्द्रसँग एकता भई नेकपा बनेपछि निष्क्रिय जस्तै रहेका पार्टीका जनसंगठनहरुलाई पुनः सक्रिय बनाउन थालेको हो । आगामी मंसिर ४ गते घोषित निर्वाचन नजिकिँदै गर्दा एमालेले जनसंगठनहरुको कार्यक्रमहरुलाई तीब्रता दिएको छ ।
एमाले स्थानीय देखि जिल्ला कमिटीको समिक्षा बैठकहरुमा विभाग र जनसंगठनहरु सक्रिय नहुँदा गत स्थानीय तहको निर्वाचनमा पार्टीले क्षति बेहोर्नुपरेको रिर्पोट आएको थियो । त्यसको समिक्षा गर्दै एमालेले अहिले धमाधम जनसंगठनहरुको बैठक, भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिरहेको छ । विगतका चुनावमा एमाले निकट जनसंगठनहरुले खेलेको जस्तो सशक्त भूमिका गत स्थानीय तह निर्वाचनमा नदेखिएको नेताहरुको विश्लेषण छ ।
साउन पहिलो सातादेखि चलेको जिल्लाब्यापी संगठन सदृढिकरण तथा शुद्धिकरण अभियानका क्रममा पनि पार्टी संगठनसँगै जनसंगठनका कार्यक्रमहरु संचालन गरिएका थिए । जिल्लाको ९ वटै स्थानीय तहमा पहिलो चरणको संगठन सदृढिकरण तथा शुद्धिकरण [सुसु] अभियान सकिएलगत्तै एमाले जनसंगठन लक्षित कार्यक्रममा केन्द्रीत भएको छ ।
एकसाता यता एमाले निकट राष्टिय युवा संघ, अनेरास्ववियु, अनेमसंघ, उत्पीडित जातीय मुक्ति समाज लगायतका संघ संगठनहरुले आफ्नो गतिविधिलाई तिब्रता दिएका छन् । युवा संघले केहीदिन अघि बैठक राखेर जिम्मेवारी बाँडफाँड गरेपछि स्थानीय स्तरमा धमाधम कार्यक्रम हुन थालेको छ । जिल्लाका सबै पालिकाहरुमा बैठक भेला सम्पन्न गरी असोज पहिलो हप्ता जिल्ला स्तरिय बृहत भेला आयोजना गर्ने तयारीमा जुटेको युवा संघले जनाएको छ ।
अनेरास्ववियुले विभिन्न क्याम्पसहरुमा कार्यक्रम गरिरहेको छ भने अनेमसंघले जिल्ला स्तरिय बैठकपछि अहिले गाउँस्तरमा बैठक, भेला संचालन गरिरहेको छ । शिक्षक संगठनले शनिवार सदरमुकाम चरिकोटमा जिल्ला स्तरिय भेलाको आयोजना गरेको छ । भेलालाई एमाले उपाध्यक्ष युवराज ज्ञवाली, पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरुले समाजका सबैभन्दा शिशित वर्गको निर्वाचनमा समेत महत्वपूर्ण भूमिका हुने भन्दै सोही अनुसार जनतालाई पनि प्रशिक्षित गर्न आग्रह गरे ।
उत्पीडित जातीय मुक्ति समाजले पनि बैठक, भेला लगायतका कार्यक्रमलाई तीब्रता दिएको छ । भेलाले कमरेड हरिकृष्ण नेपालीको अध्यक्षतामा १३ सदस्यीय भिमेश्वर नगर मुक्ति समाज आयोजक कमिटी गठन गरेको छ। प्रचार र प्रेससँग सम्बन्धित विभाग र संघ संगठनको बैठकपनि बसिसकेको छ । विभिन्न गाउँपालिकाका काठमाण्डौं सम्पर्क समन्वय कमिटीको कार्यक्रमहरु समेत धमाधम भैरहेका छन् ।
एमाले निकटका २२ वटा जनसंगठनहरु छन् । उनीहरु आफ्नो संगठनको परिभाषित उदेश्यसँगै पार्टीको विचार, योजना र आगामी रणनीति जनस्तरसम्म लैजाने काममा समेत सक्रिय हुने बताईएको छ । एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले नेकपा हुँदा निष्क्रिय बनेको जनसंगठनहरुलाई पुनः सुदृढ र चलायमान बनाएर समृद्ध दोलखा र सुखी दोलखाली बनाउने पार्टी अभियानमा परिचालन गरिने बताए ।
‘नेकपा बन्दा जनसंगठनहरु पुरै निष्क्रिय भए, गत स्थानीय चुनावमा पनि भूमिका फितलो भएको समिक्षा गरेका छौं, श्रेष्ठले भने ‘आगामी दिनमा त्यस्तो हुन दिईने छैन, जनसंगठनहरुलाई उनीहरुको परिभाषित लक्ष्य अनुसार पुरै सक्रिय र सशक्त बनाएर परचालन गरिनेछ ।’
२०७० र २०७४ सालको निर्वाचनमा एमालेले जनसंगठनसँगै युथफोर्सको समेत सशक्त परिचालन गरेको थियो । एमालेले यही भदौं २० गते जिल्ला कमिटी बैठक राखेर प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्दैछ ।