Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री ओलीको जोडवलमा नयाँ अध्यादेश ! पार्टी फुटाउन सुविधाजनक व्यवस्था

काठमाण्डौंं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन ४० बहुमत भए पुग्ने प्रस्ताव मन्त्री परिषद बैठकबाट पास गराएका छन् । प्रधानमन्त्री ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत पुर्याए पार्टी फुटाउन मिल्ने अध्यादेश पास गराएका हुन् ।

उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाईएको छ । वालुवाटार निकट स्रोतका अनुसार पार्टी भित्र आफुलाई सत्ताबाट हटाउने चलखेल बढेको निष्कर्षका आधारमा प्रधानमन्त्री यो निर्णयमा पुगेका हुन् । यसअघि पार्टी फुटाउन संसदिय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था थियो ।

प्रधानमन्त्री पदबाट आफुलाई हटाउने आशंका बढेपछि प्रधानमन्त्रीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी यस्तो अध्यादेश पास गराउने अग्रसरता देखाएको नेकपा निकट उच्च स्रोतको दावी छ । स्रोतका अनुसार मन्त्रिपरिषदको वैठकमा उक्त निर्णयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले असहमति जनाएपनि बाँकी मन्त्रीले मौन समर्थन जनाए ।
नयाँ अध्यादेश राष्ट्रपति भण्डारीले सम्भवतः आईतवारै जारी गर्ने जनाईएको छ ।

पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीच कार्यकारी अधिकारको प्रयोग, पार्टी संचालन, सरकारका कामकारबाही लगायतका विषयमा मतभेद छ । नेकपा भित्र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको नेतृत्व दिने चर्चा छ । सभामुख निर्वाचन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पछि बिवाद भएको थियो ।

नेकपाभित्र प्रचण्ड र नेपालबीच समिकरण बन्दापनि संसदीय दलका ४० प्रतिशतभन्दा माथि सदस्यको भने आफुलाई समर्थन गर्ने ओलीको विस्वास छ । सरकारले ल्याएको अध्यादेश संसदको बहुमतले संसद अधिवेशन सुरूभएको ६० दिनभित्र पास गर्नु पर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update