Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
श्रृंखलाबद्ध चोरी, चोर पत्ता लगाउन प्रहरीलाई सास्ती

१३ माघ, दोलखा । दोलखामा चोरीका घट्ना बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरी सक्रिय भएको छ । जिल्लामा चोरी अपराध नियन्न्त्रण प्रहरीका लागि चुनौती बन्दै गएपछि प्रहरीले चोरीका घट्ना नियन्त्रणका लागि विशेष अप्रेशन अभियान थालेको छ । विशेष अप्रेशन सुरु गरेपछि चोरीमा संलग्न गिरोहका सदस्यहरु पक्राउ गर्न प्रहरीलाई सफलता मिलेको छ ।

भिमेश्वर नगरपालिका वडा नम्वर ५ स्थित तामाकोशी बजार स्थित गणेश श्रेष्ठको घर चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका ७ का २३ वर्षिय धर्मेन्द कुमार यादव र सोही स्थानका देविन्द्र राय यादव रहेका छन् । उनीहरुको साथबाट श्रेष्ठको घरबाट चोरी भएको नगद र गरगहना बरामद भएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरबाट नगद ४० हजार रुपैया, सुनको तिलहरी १ थान, मंगलसुत्र १ थान चोरी भएको थियो ।

पक्राउ परेका दुबै जनालाई चोरी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट म्याद लिई अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । प्रहरीले केही दिन अघि मात्रै भिमेश्वर नगरपालिका ७ मकैवारी स्थित एक घरमा चोरी गरेको अभियोगमा एक महिला र चोरी गरेको सुन खरिद गरेको अभियोगमा चरिकोट स्थित एक ज्वयलर्सका संचालकलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुमाथि पनि अनुसन्धान कार्य भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले एक दर्जन बढि चोरी घट्नाको मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको छ । प्रहरीलाई स साना मालसामान, थोरै नगद र गरगहना चोरी गर्नेलाई पक्राउ गर्न हम्मेहममे पर्ने गरेको छ । प्रहरी स्रोतका अनुसार चोरीका घट्नामा चोरको पहिचान गर्ने आधार भेट्न गाह्रो छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जिल्लामा चोरीका घट्ना मुख्य चुनौतीका रुपमा देखिएकाले विशेष अप्रेशन सञ्चालन गरिएको बताए । जिल्लामा अहिले चोरीको घट्ना नियन्त्रण नै मुख्य चुनौतीको रुपमा रहेको छ, यसलाई नियन्त्रण गर्न प्रहरी योजनाबद्ध रुपमा गम्भिर भएर लागिपरेको छ, उनले भने ।

चोरीमा बालवालिकाको प्रयोग प्रहरीको थप टाउको दुखाईको विषय बनेको छ । धेरै चोरीका घट्नामा बालवालिकाको प्रयोग भएका कारण प्रहरीलाई अनुसन्धान गर्न समेत अप्ठ्यारो परेको उनले बताए । यही बीचमा बैत्यश्वर गाउपालिका वडा नम्बर १ को कार्यालय र अन्य सर्बसाधरणको घरमा पनि चोरी भएको थियो । प्रहरीले अभियुक्तहरुलाई मुद्धा दर्ता गरी कारबाही प्रक्रिय अघि बढाएपनि जिल्लामा चोरीका अपराध रोकिएको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update