काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समायोजन नगरेको सरकारले बढेर आउँदा भने नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य घटेर आउँदा भने आयल निगम मौन बसेको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाए लगत्तै निगमले ईन्धनको भाउ बढाएको हो ।
त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६र६ रुपैयाँ बढाएको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्र्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ ।’
मूल्यबृद्धिसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख छ । निगमले पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ ।
मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने नीतिले आम उपभोक्ताहरू मारमा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । चाडबाड नजिकिँदै गर्दा डिजेलमा भएको मूल्य वृद्धिले बजारभाउ थप महँगिने उनीहरूको दाबी छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा बढेलगत्तै बढाउने तर तीन पटक घटेर आउँदा यथावत् राख्ने निगमको नीति उपभोक्तामैत्री नभएको बताए । चाडबाडलाई लक्षित गरेर छुट दिनुपर्ने अवस्थामा निगमले महँगीको उपहार दिएको उनको प्रतिक्रिया छ ।