चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका स्थित एक हाईड्रोपावरमा कार्यरत एक जना कामदारको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ स्थित निर्माणाधिन सासा हाईड्रोमा उक्त घट्ना भएको हो । मृत्यु हुनेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २२ वर्षिय पेम्बा छिरिङ शेर्पा रहेका छन् ।
काम गर्न हाईड्रोको मेसिनमा जाने क्रममा अकस्मात माथिबाट खसेको ढुंगा लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो । अर्का कामदार सोलुखुम्बु जिल्ला खुम्बुपासाङ गाउँपालिका वडा नम्बर १ का अन्दाजी २० वर्षिय फुर्वा ग्याल्जेन शेर्पाको टाउको, ढाडमा चोट लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेको सिंगटी स्थित रोल्वालिंग सामुदायिक अस्पतालमा उपचार भैरहेको र अवस्था मध्यम रहेको छ । घट्नाबारे प्रहरीले घट्नास्थल पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।