काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनप्रतिनिधिहरुलाई प्रचारप्रसार गर्न निर्वाचन आयोगले बन्देज गरेको छ । आयोगले सोमबार राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिता अनसार स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् ।
आचारसंहितामा प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाइने उल्लेख छ ।
आचारसंहिताको परिच्छेद ३ को ५ मा ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नुहने’ व्यवस्था गरिएको छ ।
यद्यपी, निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री, मन्त्री प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न भने पाउने आयोगले स्पष्ट पारेको छ । यसरी प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग भने गर्न नपाउने आचारसंहितमा उल्लेख छ ।