काठमाडौँ — ओखलढुंगाका एक जना पुरुष बिना अनुमति बिभिन्न ब्राण्डको लोगो राखी चामल बिक्रिबितरण गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ । ललितपुर महानगरपालिका ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्रान्डको लोगो राखी चामल बिक्रीरवितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ओखलढुंगा घर भएका एक जना सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका ९ शनिहाटका २७ वर्षीय एस अग्रवाल र म्यानेजर ओखलढुंगा सुनकोसी गाउँपालिका ५ पात्ले घर भई काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।
उनीहरुले भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लगन र चामललाई विभिन्न ब्रान्डका लोगो राखि बिना अनुमति बिक्रिबितरण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्रान्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं बिग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला परेको छ । उक्त उद्योगलाई शिलबन्दी गरि थप अनुसन्धान अघि बढाईएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाइएको जनाएको छ ।
यसैबीच भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाईलसहित ओखलढुंगा लिखु गाउँपालिका १ घर र्भइ हाल काठमाण्डौंमा बोराटार बस्ने २६ वर्षिय शैलेस कार्कीपनि पक्राउ परेका छन् ।