Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गठबन्धनले  दोलखालाई किन जित्ने लिष्टमा राखेन ? 

चरिकोट – आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुबारे छलफल गर्न नेपाली कांग्रेस दोलखाले आज (सोमवार) जिल्ला स्तरिय बैठकको आयोजना गर्यो । स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित कांग्रेसले उम्मेदवारहरुबारे अन्य दलहरुभन्दा पहिले छलफल सुरु गरेको हो । सदरमुकाम चरिकोटस्थित एक स्टार होटलमा आयोजित बैठकमा बोल्ने प्रायः सबैले जिल्लाको एकमात्र प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले छोड्न नहुनेमा जोड दिए ।

बक्ता मध्येका जिल्ला सभापति बर्मा लामाले पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटको प्रसंग झिके । देउवासँग दोलखाको संघीय सिट कांग्रेसले पाउनुपर्ने माग गर्दा ‘गठबन्धन छ भनेर जित्छौं भनेको होला, कहिल्यै जित्दैनौ !’ भन्ने जवाफ दिएको उनले सुनाए । 

दोलखा केन्द्रको जित्ने लिष्टमा नभएको भन्दै लामाले असन्तुष्टि व्यक्त गरे । गठबन्धन दोलखाको आवश्यकता नभएको भन्दै एक्लाएक्लैपनि एमालेसँग चुनाब जित्नसक्ने दाबी उनले गरे । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले नेता पार्वत गुरुङले ३० हजार भन्दा बढी मतान्तरले कांग्रेस उम्मेदवार रुद्रबहादुर खड्कालाई पराजित गरेका थिए । 

कांग्रेसको सोमवार सम्पन्न बैठकले  गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रतिनिधिसभा तर्फको टिकट कांग्रेसले पाउनुपर्ने प्रस्ताव पारित गरेको छ । जिल्लामा तीन जना केन्द्रीय सदस्य रहेको र गत स्थानीय निर्वाचनमा जिल्लामा पहिलो पार्टी बनेको भन्दै दोलखा कांग्रेसले प्रतिनिधिसभाको सिट पाउनुपर्ने दाबीबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा तर्फको सिट पाउनुपर्ने माग गर्दै कांग्रेस दोलखाले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराईसकेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र छ । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले प्रतिनिधिसभाको सिटबाट कुनैपनि हालतमा पछि हट्न नहुने बताएका छन् । 
पार्टी केन्द्रमा सिफारिस गर्नुपर्ने उम्मेदवारहरुबारे छलफल गर्न बोलाईएको आजको बैठक त्यसबारे कुनै निर्णयमा नपुगी टुंगिएको छ । बैठकले यही भदौं १६ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ ईच्छुक उम्मेदवारहरुलाई नामावली दर्ता गर्न निर्देशन दिएको प्रवक्ता राकेश श्रेष्ठले जानकारी दिए ।  

दोलखामा कांग्रेसबाट प्रतिनिधिसभातर्फ वर्तमान संघीय सांसद एवं केन्द्रीय सदस्य जिपछिरिङ लामा, कुन्दन काफ्ले, अजयबावु शिवाकोटी, वर्मा लामा, तारा बहादुर कोईराला र रुद्र बहादुर खड्काको नाम चर्चामा छ । बैठकमा निर्वाचन लक्षित अभियानका लागि पार्टी केन्द्रबाट जिल्ला प्रतिनिधिको रुपमा खटाईएकी शान्ती परियार लगायतका नेताहरु सहभागि थिए । कांग्रेस केन्द्रीय समितिले यही भदौं १७ गतेभित्र उम्मेदवारहरुको सूची सिफारिस गर्न तल्लो तहलाई निर्देशन दिएको छ ।  

यसैगरी नेपाली कांग्रेस दोलखाले यही भदौं ३० गतेसम्म जनताको साथमा नेपाली कांग्रेस अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update