Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कामु प्रधानन्यायधीशको विद्यार्थीलाई क्लास, भन्छन् : ‘न्यायलयभित्रको बेथिति उठाउनुपर्छ’
चरिकोट स्थित गौरीशंकर बहुमुखि क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै कामु प्रधानन्यायधीश दिपक कुमार कार्की । फोटो सौजन्य : तारा विएम

चरिकोट - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधिस दिपक कुमार कार्कीले न्यायलय भित्र हुने बेथिति उजागार हुनुपर्ने बताएका छन् । अदालतभित्र अनियमितता, भ्रष्टाचार वा अन्य कुनै खराबी रहेको भए उठाउन उनले आग्रह समेत गरे । सर्वोच्च अदालतले दोलखा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखि क्याम्पसमा आयोजना गरेको विद्यार्थी माझ अदालत कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायधिस कार्कीले यस्तो बताएका हुन् ।

‘न्यायलयभित्र कुनैपनि प्रकारको बेथिति र खरावी छ भने उठाउनुपर्छ, कार्कीले भने, चाहे कर्मचारी होस् या न्यायधिस, जानकारी छ भने उठाउनुपर्छ ।’ त्यसले सही ढंगले न्याय सम्पादनमा सहयोग पुग्ने र कानुन बिपरितको अपराध गरेको भए कारबाही हुने उनको भनाई छ ।

न्यायलयभित्र पारदर्शीताको विषय उल्लेख गर्दै उहाँले कानुनले दिएको कुनैपनि सूचना आवश्यक परे जानकारी लिन सकिने उनले बताए । राज्यले शान्तिसुरक्षा कायम गर्न नसक्दा समाजमा अपराध कायमै रहेको उल्लेख गर्दै उनले कानुनबारे जनचेतना फैल्याउन आवश्यक रहेकोमा जोड दिए ।   

कार्यक्रममा गौरीशंकर क्याम्पसमा कानुन विषय लिएर अध्ययनरत र कानुनमा चासो राख्ने अन्य विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको छ । कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह रजिष्ट्रार बाबुराम दाहाल, उप रजिष्ट्रार माधव भण्डारी, जिल्ला अदालत दोलखाका न्यायधिश डिल्लीरत्न श्रेष्ठ लगायतले नेपालको संविधान, प्रचलित कानुनी प्रावधान लगायतका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागि दुई दर्जन बढि विद्यार्थीहरुले प्रतिनिधिमुलक रुपमा कामु प्रधानन्यायधिस कार्कील लगायत सर्वोच्च अधिकारीहरुलाई संविधान, कानुन, न्यायलयका विषयमा जिज्ञासा राखेका थिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update