चरिकोट – आगामी निर्वाचनमा नेपाली कांग्रेस दोलखाका नेता जिपछिरिङ लामा समानुपातिक कोटाबाट सांसद बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार र सांसद बनेका नेताहरुलाई पुन सिफारिस नगर्न निर्देशन दिएपछि लामा समानुपातिकबाट सांसद बन्ने बाटो बन्द भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामा २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।
समानुपातिक बाटो बन्द भएपछि पुनः सांसद बन्ने चाहना भए लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्नुपर्ने भएको छ । कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ ।
कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित ४० जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।