Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको लाखौं रुपैयाँ आन्तरिक आय वर्षौंदेखि गुमाईरहेको छ । आफ्नो क्षेत्रभित्र पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक मन्दिर र आसपासको क्षेत्रबाट उठ्ने लाखौं रुपैयाँ राजस्व गाउँपालिकाले गुमाएको हो । कालिञ्चोक गाउँपालिका भित्र पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुख्य धार्मिक तथा प्राकृतिक स्रोत मानिन्छ ।

तर पालिकाले चासो नदिएपछि उक्त क्षेत्रको राजस्व गाउँपालिका बाहिरको संस्थाको हातमा पुग्ने गरेको छ । स्थानीय तह संचालन सम्बन्धी ऐनको परिच्छेद ३ को (११) मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गाउँपालिकाको काम, कर्तव्य र अधिकारको रुपमा व्यवस्था गरिएको छ ।

यस्तै संघले घरबहाल कर देखि भूमिकर (मालपोत) उठाउने अधिकारपनि स्थानीय तहलाई दिएको छ । यद्यपी आफ्नो मुख्य स्रोतमाथि गुठीले बर्षेनी कब्जा जमाउँदै आएपनि गाउँपालिका मौन छ । जनप्रतिनिधिहरु मुकदर्शक बन्दा पालिकाको स्रोत गुम्ने अवस्था आएको हो ।  

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरको भेटी, कुरी, घ्याङ्डाँडा स्थित सार्वजनिक क्षेत्रमा बनाईएका होटेल, घरटहराबाट उठ्ने भूवहाल लगायत शिर्षकमा उठ्ने राजस्व अहिले भीमेश्वर, कालिञ्चोक त्रिपुरासुन्दरी गुठी व्यवस्थापन समितिले उठाईरहेको छ । 

गुठीले आर्थिक वर्ष २०७९/८० मा पनि कालिञ्चोक भगवती मन्दिरमा उठ्ने भेटी संकलनको लागि ८ लाख १ सय रुपैयाँमा ठेक्का लगाएको छ । एक सूचना प्रकाशित गर्दै गुठी समितिले भेटी संकलनको लागि वोलपत्र आव्हान गरेको हो । कालिञ्चोक मन्दिरमा भेटी वापतको रकम मात्रै प्रत्येक वर्ष दश लाख माथि संकलन हुने गर्दछ । 

यस्तै कालिञ्चोक मन्दिर तथा कुरी आसपासको क्षेत्र स्थित सरकारी जग्गा अतिक्रमण गरी बनाईएका होटल लगायतका व्यवसाय, घरटहराको भूबहाल कर समेत गुठिले उठाउँदै आएको छ । भीमेश्वर, कालिञ्चोक, त्रिपुरासुन्दरी गुठी व्यवस्थापन समितिको नाममा  सूचना जारी गरी भूबहाल कर दाखिलाको लागि ताकेता गर्ने गरिएको छ । 

गुठीले प्राचिन नगरी दोलखा बजारको जात्रा पर्व चलाउनका निम्ति कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी भीमेश्वर गुठी अन्तर्गत राखिएको १८८६ बैशाख १४ गतेको लालमोहरलाई आधारको रुपमा दाबी गर्दै आएको छ । वन कार्यालयले भने उक्त जग्गाहरु खर्क ऐन २०३४ अनुसार सबै राष्ट्रियकरण भइसकेकाले कालिञ्चोक क्षेत्र बन अन्तर्गत रहेको बताउँदै आएको छ ।  

राज्यका सरोकारवाला निकायबीच बिवाद भैरहँदा गाउँपालिकाले अग्रसरता नलिँदा समस्या जस्ताको तस्तै छ । नापी कार्यालयको रेकर्डमा उक्त क्षेत्र गुठीको नाममा नापी भएको देखिँदैन । गुठी संस्थानले गुठी अन्तर्गत नाप नक्सा गर्न पटक–पटक प्रयास गरेको थियो । तर वन कार्यालयले असहमति जनाउँदै गुठीको नाममा नाप–नक्सा रोक्दै आएको छ । 
तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले आफ्नो अध्यक्षतामा कालिञ्चोक मन्दिरको गुठी समिति बैठक राखेर कुरी बजारका घरहरुलाई भुबाहल तिर्ने गरी गुठीसँग सम्झौता गरिदिएका थिए । उक्त निर्णयको बैद्यानिकतामाथि प्रश्न उठेपछि बिवादित छ । 

तर जिल्ला मालपोत कार्यालयले आफ्नो लेटरप्याड प्रयोग गरी गुठीको नाममा भुवहाल कर बुझाउन उर्दी जारी गर्ने गरेको छ । गुठी समितिको सदस्य सचिव रहेका मालपोत कार्यालयका प्रमुख धन कुमार तामाङले विगतकै निरन्तरता अनुसार भेटीका लागि वोलपत्र र भू–वहाल करका लागि सूचना जारी गरिएको बताए । अन्य बिवादित विषयबारे उनले अनभिज्ञता जनाए । 

गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले कालिञ्चोक क्षेत्रको कर गाउँपालिकाले संकलन गर्ने विषयमा छलफल भैरहेको र आम नीति बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । कालिञ्चोक क्षेत्रमा बढिरहेको बेथिति नियन्त्रणका लागि आगामी दिनमा डिपीआर सहितको नीति बनाएर कार्यान्वयन गर्ने सोँच बनाईएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update