‘सांगीतिक विद्रोह’
प्रिय कमरेड ! हेलेन !!
यो अत्यासलाग्दो
सन्नाटा छाएको शहरको
अट्टालिकामा बसेर
मातृभूमिको ममता छातिभित्र
पिलो झैं दुखिरहँदा
बालुवाको तातो हावाले
फोक्सोलाई एकोहोरो फूकिरहँदा
अनायास
तिम्रो शहादतको खबर
बिजुली चम्कीएर
मेघ झैं गर्जेर आयो
शिशा झैं चर्केर आयो
वर्षा झैं दर्केर आयो
प्रिय कमरेड !
पिर सुल्तान र नाजीव हिक्मत जस्ता
प्रखर कविहरू जन्मिएको
टर्कीस भूमीमा
सांगीतिक विद्रोहको मशाल बाल्ने
योरम साँस्कृतिक समूह
अनि
इदिल साँस्कृतिक केन्द्रहरू उदाएर
प्रत्येक जनमनको ढुकढुकीमा
धड्कन बनेको थियो
यूरोपको बिरामी टर्की
अनि साम्राज्यवादको विरुद्ध
चड्कन बनेको थियो
प्रिय कमरेड !
तिम्रो सांगीतिक जागरणले
टर्की मात्र नभएर
ग्रीस लगायत
विभिन्न देश देशान्तरमा
भूकम्प ल्याईदिएको थियो
साम्राज्यवादलाई त्राहीमाम
बनाएको थियो
त्यही भएर नि तिमी
क्रान्तिकारी जनमुक्ति पार्टीसँगै
आतंकवादीको सूचिमा परेकी थियौ
प्रिय कमरेड !
यी हरहालत र जुलुमका अगाडि
तिमी हिमाल झैं उभिरह्यौ
नदी झैं बगिरह्यौ
सूर्यको तेज झैं जागिरह्यौ
अधिकार र स्वभिमानको लागि
दुई सय अठासी दिनको
कठोर भोकहड्तालमा
स्फटिक झैं भएर
साम्राज्यवादको अगाडि घुँडा नटेक्ने
अदम्य शपथ खाएर
कात्रोको कफन लाएर
जीवनोत्सर्ग गर्यौ
त्यही भएर नै
तिमी भ्वायलिनका तारहरूमा
रेटिईरहनेछौ
तिमी सदैव
सर्वहाराका ढुकढुकीमा भेटिईरहनेछौ
17 अप्रिल 2020