काठमाण्डौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी भूमि र प्रतिनिधिको रहोबरमा निर्वाचनपछि हुने नेपालको सत्ता साझेदारीबारे सत्ता गठबन्धनले छलफल गरिसकेको आरोप लगाएका छन् । शुक्रवारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचनपछिको सत्ता साझेदारीका बारेमा विदेशी भूमि र विदेशी प्रतिनिधिहरूको रोहबरमा छलफल गरिएको उल्लेख गरेका हुन् ।
नेपालको राष्ट्रिय स्वाभिमानलाई तेजोबध गर्ने र बाह्य शक्तिहरूलाई आन्तरिक मामलामा हस्तक्षेप गर्न सहज तुल्याउने गरी भैरहेको हर्कत अत्यन्त गम्भीर रहेको ओलीको प्रतिवेदनमा उल्लेख छ । एक जना सत्तागठबन्धनकै नेताबाट यस्तो छलफल भएको ओलीको दाबी छ ।
उनले ती नेता को हुन् भन्ने नखुलाएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ ईगिंत गरेको ठानिएको छ । प्रचण्ड हालै भारत भ्रमण गरेर फर्किएका थिए । भारत भ्रमणका क्रममा प्रचण्डले भावी सत्ता सझेदारी आलोपालो हुनसक्नेबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए ।