काठमाण्डौं - नेपाली कांग्रेसले गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने गरी सर्कुलर जारी गरेको छ । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्लो तहको कमिटीलाई निर्देशन दिएको हो ।
महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई जारी गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न भनिएको छ ।
कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ ।
यस्तै कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन तल्लो कमिटीलाई निर्देशन दिएको छ ।