काठमाण्डौं - दोलखा र रामेछापका केही व्यक्तिहरुले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्याउने गरेको पाईएको छ । ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरेको अभियोगमा प्रहरीले दुई जिल्लाका ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका घर भएका २४ वर्षीय हरि वली, भीमेश्वर नगरपालिका–८ घर भएका भगवान बस्नेत, कालिन्चोक गाउँपालिकाका विशाल वली, रामेछापको खाँडादेवी घर भएका मनोज खत्री र खाँडादेवी कै गोपी श्रेष्ठ छन् । उनीहरुले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको काठमाडौं प्रहरी परिसरको विशेष टोलीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद ती सामान सबै सिलप्याक अवस्थामा थिए ।
यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतलहरु ठुलो परिमाणमा बरामद भएको छ । ती मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसमम्म पुग्ने गरेको अनुसन्धान खटिएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रहरीले सुरुमा कोटेश्वर स्थित हरि वलीको कोठा खनतलासी गरी उनलाई नियन्त्रणमा लिएको थियो । उनको कोठाबाट डबल ब्ल्याक, ब्ल्याक लेभल, रेड लेभल र ज्याक ड्यानियल्सका चार कार्टुन सिल प्याक मदिरा बरामद गरेको भएको छ । त्यो गैरकानुनी मदिरासँग जोडिएको थाहा भएपछि प्रहरुले अन्यलाई पनि पक्राउ गरेको हो । थप अनुसन्धानका क्रममा मदिरा उत्पादन हुने ठाउँसम्म प्रहरी पुग्न सफल भएको हो ।