काठमाडौैं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार रामेछाप घर भएका एकजना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप तिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी रहेका छन् । अस्पतालबाट फरार भएका उनलाई ललितपुर प्रहरीले लुभुबाट पक्राउ गरेको हो ।
२०७० सालमा हत्या गरेको आरोपमा पक्राउ परेका बुढाथोकी सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए ।बुधबार टिचिङ अस्पतालमा उपचारका लागि लगिएका बुढाथोकी अस्पतालबाट फरार भएका थिए । कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो । साथै कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ ।