काठमाडौँ - शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सरकारले उक्त कम्पनीलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।
शैलुङ कन्स्ट्रक्सनमाथि काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ । शैलुङका प्रमुख अधिकारीले सत्ता र शक्तिको आडमा ठेक्का हत्याउने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुललगायत सरकारी र सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् ।
अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ‘घरभेटी’ हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ ।