काठमाडौं - अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ थलाडाँडा घर भई बौद्ध आरूबारी बस्ने ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ललितपुरको धापाखेलहाइट बस्ने ३२ वर्षीय विष्णु तामाङ छन् । उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुको साथबाट ठगी गर्न प्रयोग भएको नेपाली ५, १० र २० दरका नोट र केही अमेरिकी डलर बरामद भएको छ । नेपाली र अमेरिकी डलर गरी उनीहरुको साथबाट १५ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरेर आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने प्रलोभन दिने गरेका थिए । प्रहरीका अनुसार उनीहरुले १ र ५० डलर दरका अमेरिकी मुद्रा देखाएर विश्वासमा पारेर सटही गर्ने प्रलोभनमा उपत्यकाका साँघुरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासका स्थानमा बोलाएर डलर भनेर रुमाल पोको पारेर ५, १० र २० दरका नेपाली नोटको बिटो दिने गरेर फरार हुने गरेका थिए ।
थप एकजना पनि घटनामा संलग्नको स्केट तयार गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु उपत्यका र बाहिर गरी यस्तै शैलीका ५ वटा घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।