सिन्धुपाल्चोक - नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिकाको निर्वतमान मेयर सहित अमानसिं तामाङसहित जिल्लाका लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रिय कार्यालय, तुल्सिलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच तामाङको नेतृत्वमा माओवादी केन्द्र भोटेकोसी गाउँपालिका कमिटिका अध्यक्ष कमरेड आङ छिरिङ शेर्पा, भोटेकोसी गाउँपालिकाको निबर्तमान उपाध्यक्ष एबं महिला नेतृ दाबुटी शेर्पा लामा, युबा नेता एबं चौसागढि नगरपालिकाका निबर्तमान वडा अध्यक्ष बिष्णु लामा लगायतका नेताहरु एमाले प्रवेश गरे ।
यसैगरी नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य उत्तम बिक्रम थापा, निर्माण ब्यबसायी एबं माओवादी केन्द्रका बागमति प्रदेश कमिटिका बिभागीय सदस्य छत्र बहादुर तामाङ, २०५६ मा सिन्धुपाल्चोक २ बाट नेकपा मालेका उम्मेदवार सुदर्शन प्रधान, भोटेकोशी गाउँपालिका ३ नबर वडा अध्यक्ष निमा सोना शेर्पा, मेलम्ची नगरपालिका १३ पूर्व जनप्रतिनिधि अर्जुन घोरासैनीपनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।
सिन्धुपाल्चोक सदरमुकाम समेत रहेको जिल्लाको पहिलो नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । तामाङ भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा समेत पुनः उमेदवार हुन खोजेका थिए । तर, माओवादीले उम्मेदवार नबनाएपछि तामाङ असन्तुष्ट थिए । त्यतिबेला नै माओवादी छाडेर एमालेमा प्रवेश गर्ने अन्तिम तयारी भएपनि माओवादी अध्यक्ष प्रचण्डले पुनः उमेदवार बनाउने आश्वासन दिएपछि उनी रोकिएका थिए । तर, अन्तिम समयमा तामाङलाई उम्मेदवार नबनाएपछि उम्मेदवार मनोनयनको दिन तामाङ समर्थक र माओवादी कार्यकर्ताहरूबीच झडपसमेत भएको थियो ।
पार्टीले उम्मेदवार नबनाए पनि उनी माओवादी उमेदवार कृष्णप्रसाद सापकोटाको चुनावी अभियानमा भने सहभागी भई सापकोटालाई मत मागेर हिँडेका थिए । माओवादी सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित वैशाख १६ गते सम्पन्न बैठकले तामाङलाई पार्टीको केन्द्रीय सदस्य र वागमती प्रदेश सदस्यका लागि सिफारिस गर्ने, सिन्धुपाल्चोक जिल्लाको सहइञ्चार्ज बनाउने लगायतका सहमति भएको थियो ।
२०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भएका तामाङ २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट कुभिण्डे गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०५८ मा माओवादीमा भूमिगत भएका तामाङ जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।