दोलखा – जिल्ला प्रशासन कार्यालय दोलखाले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ताको लागि आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै आगामी भदौ ५ गतेसम्म कार्यालयमा उजुरी दिन आग्रह गरेको हो । मीटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
देशभर मिटरव्याजका कारण समस्या भएको बिषय सार्वजनिक भइरहेको बेला दोलखामा पनि आज सार्वजनिक सुचना जारी गरेको हो । जिल्लामा पनि मिटरव्याज पिडितहरु हुनसक्ने भएकोले त्यसलाई मध्यनजर गर्दै सुचना जारी गरेको कार्यालयले जनाएको छ ।
यसअघि मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।