Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको सितलीमा बाढीले एक दर्जन बढि घरमा क्षति

चरिकोट - अविरल वर्षासँगै दोलखाको मेलुङ गाउँपालिकामा आएको बाढी पहिरोले एक दर्जन बढी घरमा क्षति पुगेको छ । मंगलवार राती आएको बाढीले मेलुङ गाउँपालिका ७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुगेको हो । बाढी आएपछि स्थानीयले घर छाडेर सुरक्षित स्थान गई ज्यान जोगाएका छन् ।

सितलीको २ वटा होटल, एक पसल र एक मोटरसाइकल वर्कसप समेत बगाएको स्थानीयले जानकारी दिएका छन् । प्रहरीका अनुसार बाढीले बुद्धबहादुर तामाङको पक्की घर पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ भने अन्य घरहरुमा बाढी छिर्दा अन्नपात, लत्ता कपडा, भाँडा वर्तन नष्ट गरेको छ । खहरे खोलाले धार परिवर्तन गरेर बस्ती छिरेपछि थप जोखिम बढेको छ ।

वडाध्यक्ष नवराज खड्काले माथिबाट आएको बाढीले धेरै घरमा क्षति पुगेको र क्षतिको एकिन विवरण लिने काम भैरहेको बताए । स्थानीयका अनुसार ५० रोपनीभन्दा बढी खेतमा बाढीको लेदो पसेर पुरेको छ । बाढीका कारण पुष्पलाल राजमार्गअन्तर्गत सितली खण्डमा समेत क्षेति पुर्याएको छ । बाढीले २२ घरले प्रयोग गर्दै आएको खानेपानी योजना बगाएपछि खानेपानीको समस्या भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update