Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण

चरिकोट - गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी धर्मपत्नी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा स्थापित रुपा फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ फाउण्डेसनले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ ।

रुपा स्मृति फाउण्डेसन र गौरीशङ्कर बहुमुखी क्याम्पसबिच २०७८ चैत्र १५ गते भएको सम्झौता बमोजिम फाउण्डेसनले २५ लाख रुपैयाँको लागतमा पुस्तकालय कक्ष निर्माण गरेर क्याम्पसलाई हस्तान्तरण गरेको हो । सहयोगी संस्थाको रुपमा फाण्डेसनले पुस्तकालयको भौतिक संरचना निर्माण गरिदिएको भएपनि आवश्यक फर्निसिङ तथा इलाइबे्ररी लगायत आन्तरिक व्यवस्थापनको काम अझै बाँकी रहेको छ ।

गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरलाई हस्तान्तरणपत्र थमाएर पुस्तकालय हस्तान्तरण गरे । पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले पुस्तकालय सबैजना साक्षर व्यक्तिले पढ्न पाउने खुला विश्वविद्यालय भएकोले आफूले निर्माण गर्न सहयोग गरेको बताए । एक अर्को प्रसङ्गमा श्रेष्ठले गौरीशङ्कर क्याम्पसको भौतिक विकासमा वर्तमान सञ्चालक समितिले प्रसंशनीय काम गरेको भन्दै अब शैक्षिक गुणस्तरमा केन्द्रित हुनपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा भीमेश्वर नगर प्रमुख इश्वरनारायण मानन्धरले क्याम्पसको शैक्षिक विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको र अझै गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा वोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले गौरीशङ्कर क्याम्पसको अबको ध्यान गुणस्तर बृद्धिमा केन्द्रित हुने बताउँदै गुणस्तरीय शिक्षा नहुँदा पढेर सर्टिफिकेट सिरानीमा राख्ने र परम्परागत खेती किसानीमा लाग्नुपर्ने बाध्यतामुक्त बनाउन गौरीशङ्कर क्याम्पस लाग्ने बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update