Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थामी कलासंस्कृति जोगाउन काठमाण्डौंमा ‘यापति सोनारी सांगीतिक साँझ’

काठमाण्डौं - थामी समुदायका कलाकारहरुले राजधानी काठमाण्डौंमा सांगितिक साँझको आयोजना गर्दैछन् । थामी समुदायको लोकसंस्कृति उजागर र प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो । २८ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर साउन २४ गते मंगलवार दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा कार्यक्रम हुनेछ ।

आयोजकका अनुसार सांस्कृतिक साँझमा मुलुकका विभिन्न ठाउँमा बसोबास गर्ने थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचर लगायत सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ ।  कार्यक्रममा शेरा थामी, रमण थामी, शिखर थामी लगायत ३५ भन्दा धेरै कलाकारको प्रस्तुति हुनेछ । ‘लोप हुँदै गएको थामी समुदायको कला र संस्कृतिलाई आफ्नो गाउँठाउँमा मात्र सिमित गरेर हुँदैन, देशव्यापी र विश्वव्यापी रुपमा प्रचारप्रसारको आवश्यकता छ, समुदायको कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो, आयोजक टिमका रमण थामीले भने ।’

कार्यक्रममा थामी र नेपाली दुवै भाषामा सांस्कृतिक र सांगितिक प्रस्तुती हुने बताईएको छ । मारुनी, ख्याली, सैहोले वोन्वोलगायतका मौलिक प्रस्तुति कार्यक्रममा देखाइने कार्यक्रम संयोजक शिखर थामीले जानकारी दिए । राजधानी काठमाण्डौंमा थामी समुदायका कलाकारहरुको सक्रियतामा पहिलोपटक कार्यक्रम हुन लागेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update