चौतारा - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार ७१२४ मिटरको सुरुङ समेत ब्रेक–थ्रु भएको छ । ब्रेक थ्रुपछि हाल सुरुङ ढलान गर्ने काम भइरहेको छ । आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले पावर हाउस र ड्यामसहित निर्माणका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
जतिसक्दो चाँडो सकाउने लक्ष्यका साथ काम भैरहेको उनले बताए । आयोजनाको पावर हाउसमा इलेक्ट्रोमेकानिकल काम भारतीय ठेकेदार कम्पनीले गरिरहेको छ । आयोजनामा तीन वटा युनिट रहेकोमा एक वर्षभित्र एउटा युनिट सञ्चालनमा ल्याउने आयोजनाको तयारी छ । ३४ मेगावाट क्षमताका तीन वटा युनिटबाट १०२ मेगावाट विद्यूत उत्पादन हुनेछ ।
सुरुङ मार्गको बाँध क्षेत्रतर्फ निर्माण काम ९७ प्रतिशत सकिएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार विद्युत मेकानिकल काम पनि तीव्र गतिमा भइरहेको छ । आयोजनाले प्रसारण लाइनअन्तर्गत टावर निर्माणको काम धमाधम भैरहेको छ । आयोजनाको काम ८५ प्रतिशतभन्दा बढि काम सम्पन्न भैसकेको छ । यही गतिमा निर्माण कार्य अघि बढे एक वर्षमा विद्युत उत्पादन सुरू हुने अनुमान छ ।
२०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो। तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोशी बाढी लगायत कारण आयोजनाको काम प्रभावित भएको हो ।
चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड को मुख्यालय भोटोकोशी गाउँपालिका ५ चाकुमा छ । आयोजनाको बाँध भोटेकोशी गाउँपालिका र विद्युतगृह बाह्रबिसे नगरपालिकामा पर्छ। यो आयोजनाको करिब १५ अर्ब लागत अनुमान छ।
यो आयोजनामा कर्मचारी सञ्चय कोषको मुख्य ऋण लगानी छ । कम्पनीको सेयर संरचनाअनुसार चिलिमे हाइड्रोपावर कम्पनीको ३७ प्रतिशत, विद्युत प्राधिकरणको १० प्रतिशत र अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु भोटेकोशी हाइड्रोपावरको १/१ प्रतिशत शेयर लगानी छ।