Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बन्द र रुग्ण उद्योगहरु पुनः संचालन गर्ने योजना, खरिढुंगा म्याग्नेसाईट संचालन होला ?

चरिकोट - दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा स्थित रुग्ण उद्योग ओरियन्ट म्याग्नेसाईट पुनः संचालनमा ल्याउने तयारी भैरहेको सरकारले जनाएको छ । बन्द र रुग्ण अवस्थामा रहेका उद्योगहरु पुनः संचालनमा ल्याउने योजना अन्तर्गत खरिढुंगा म्याग्नेसाईट उद्योग पनि संचालन गर्ने सरकारको तयारी छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, रूग्ण उद्योग पुनः सञ्चालनमा ल्याउने जस्ता योजना बनिरहेको बताए । मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले हालसम्म यसबारे अध्ययनको काम भैरहेको जानकारी दिए । कुन उद्योग कसरी चलाउने भन्नेबारे अध्ययन भैरहेपनि निर्णय भैनसकेको उनले बताए । 

सरकारी स्वामित्वका सात वटा बन्द तथा रूग्ण उद्योग कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सरकारले बनाएको कार्यदलले गत चैतमा सुझाव दिईसकेको छ । उक्त कार्यदलले विभिन्न मोडालिटीसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । कार्यदलले उद्योगमा थप लगानी गरी प्रविधिमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउने, निजी क्षेत्र वा वैदेशिक लगानी गर्न चाहने फर्मलाई तोकिएको मोडलमा सञ्चालन गर्ने दिने र सरकार तथा निजी क्षेत्रले चलाउन सकिँदैन भने ब्रान्ड नाम, मेसिन बिक्री गर्ने र कम्पनी खारेज गर्ने तीन वटा विकल्प सरकारलाई सुझाएको थियो ।

कम क्षमता र पुरानो प्रविधि भएका सरकारी लगानीका उद्योग तथा संस्थानहरू यथास्थितिमा सञ्चालन गर्न नसकिने कार्यदलको प्रतिवेदनले औल्याएको छ । 

खरीढुंगा तथा म्याग्नेसाइटमा आधारित डिबिएम तथा अन्य पदार्थ उत्पादन गर्ने उद्देश्यले २०३५ सालमा स्थापित उद्योग हो । यसको अधिकृत पुँजी एक अर्ब रूपैयाँ छ भने जारी पुँजी ५० करोड छ । यसमा सरकारको ७५ प्रतिशत सेयर छ । सरकारको ऋण लगानी ८१ करोड १५ लाख छ भने ब्याज एक अर्ब २९ करोड ११ लाख रूपैयाँ छ। त्यस्तै सञ्चित नोक्सानी चार अर्ब ५८ करोड रूपैयाँ छ।

खानी क्षेत्र राम्रो भए पनि खानी सञ्चालनमा नरहेको हुँदा भएको भौतिक संरचनामा खिया लागिसकेको छ। समयानुकूल प्रविधि प्रयोग गरी उद्योगको क्षमता बढाएर मात्र सञ्चालन गर्न सकिने प्रतिवदेनले औंल्याएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update