काठमाडौँ - सरकारले आगामी निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिनसम्म प्रतिनिधिसभालाई निरन्तरता दिने भएको छ । त्यसका लागि सरकार गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगले मिति सिफारिस गरेको एक महिना पुग्न लाग्दा पनि सरकारले चुनाव घोषणा गरेको छैन । स्रोतका अनुसार प्रचलित अभ्यासविपरीत चुनावको मिति घोषणापछि प्रतिनिधिसभा सदस्यको कार्यकाल लम्ब्याउन प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक परामर्शमा छन् ।
एक मन्त्रीका अनुसार मन्त्री र सांसदहरू निर्वाचनको घोषणापश्चात् पनि प्रतिनिधिसभालाई निरन्तरता दिने पक्षमा छन् । मनोनयन दर्ताको अघिल्लो दिनसम्म सांसदको कार्यकाल रहने कांग्रेसका सचेतक मीन विश्वकर्माले बताए । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि मिति घोषणापछि सांसद कायम रहनुपर्ने पक्षमा धारणा राखेका छन् । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि मनोनयन दर्ताको अघिल्लो दिनसम्म प्रतिनिधिसभा कायम रहनुपर्ने प्रतिक्रिया दिए । संविधानका जानकारहरुले भने चुनाव घोषणापछि प्रतिनिधिसभाको आयु लम्व्याउन नहुने बताएका छन् ।
संविधानविद् विपिन अधिकारीले सरकारले पहिले निर्वाचनको मिति घोषणा गर्नुपर्ने र त्यसपछि निर्वाचन प्रयोजनका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुपर्ने बताए । ‘प्रतिनिधिसभा कायम राख्नुको अर्थ सांसद, त्यसका विभिन्न समितिको सभापति, दलको नेतालगायतको पदीय हैसियतको निरन्तरता हो,’ उनले भने, ‘राज्यस्रोतको त्यस्तो दुरुपयोगले निर्वाचनको समान धरातल निर्माण हुँदैन । त्यस्तो पदीय हैसियत र सुविधा नहुनेले असमान अवस्थाका व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।’
संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म रहने व्यवस्था छ । त्यसले गर्दा पनि कतिपयले बाँकी सांसद र सिंगो प्रतिनिधिसभाको कार्यकाल त्यही समयसम्म रहनुपर्ने तर्क गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि पत्रकारहरूसँग गत साउन २ मा सांसदको कार्यकाल मनोनयन दर्ताको अघिल्लो दिनसम्म रहने बताएका थिए ।
वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त संसदीय व्यवस्थामा चुनाव घोषणापछि सांसदको पद नरहने बताउँछन् । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले सरकारले चुनाव घोषणा गरेपछि प्रतिनिधिसभा सदस्यको कार्यकाल सकिने बताए । राजनीतिक दलका नेताहरूले भने प्रतिनिधिसभालाई कायमै राखेर चुनावमा जाँदा पदीय दुरुपयोग नहुने दाबी गरेका छन् ।