Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतबाट पेट्रोलियम पदार्थको भाउ फेरि घटेर आयो, नेपालमा पनि घट्ला ?

काठमाडौँ - भारतबाट पेट्रोलियम पदार्थको भाउ फेरि घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सोमबार पठाईएको मूल्यसूची अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर नेपाल आयल निगमले भने मुल्य घटाएन ।

निगमका अनुसार मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्नेछ । भारतबाट मुल्य घट्ने तर नेपालमा निगमले नघटाएपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहनेछ ।

यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगमको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update