Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा घर भएका नेकपा नेताहरु बिरुद्धपनि पक्राउ पुर्जी जारी

 काठमाडौं - ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएका नेताहरुमा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपाली पनि छन् ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुने नेताहरुमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर लगायतका छन् ।

यसैगरी कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले ३५ दिन भित्र उपस्थित हुन उनीहरुलाई भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएको थियो । तीनबुँदे सहमतिसँगै विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्न सरकारले सहमति जनाएको थियो । सो सहमतिसँगै खुला राजनीतिमा आएका नेकपा र सो पार्टीका नेताहरु बिरुद्ध फेरी पक्राउ पुर्जी जारी गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update