Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गरगहनासहितको धनमाल लुटपाटको अभियोगमा सिन्धुपाल्चोकका तीन युवक पक्राउ

काठमाडौं - धनमाल डकैती गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकका ३ जना सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका-४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भएका २२ वर्षीय कल्याण कुमार सुबेदी र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका-५ घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् । 

काठमाडौं महानगरपालिका ७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गरी बस्ने ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको कसूरमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा अपरिचित व्यक्तिहरुको समुहले सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको थियो । घट्नापछि प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ । उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update