Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका अगुवा नेता कार्यकर्ताहरुलाई एमालेको प्रशिक्षण

चरिकोट – नेकपा एमाले दोलखाले जिल्लाभरका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । पार्टी संगठन सुदृढिकरण तथा शुद्धिकरण अभियान अन्तर्गत एमालेले जिल्ला स्तरिय कार्यक्रमको आयोजना गरी अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा आयोजित कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुलाई एमाले केन्द्रीय उपमहासचिव विष्णु रिमाल, पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, प्रदेश पार्टी अध्यक्ष केशव पाण्डे लगायतका नेताहरुले सामसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी योजना÷कार्यक्रमबारे प्रशिक्षण दिए । 

कार्यक्रममा जिल्ला स्थित ९ वटै स्थानीय तहका सयौं अगुवा नेता कार्यकर्ताहरुको सहभागि थिए । कार्यक्रममा वोल्दै उपमहासचिव रिमालले जनबिरोधी काम गरेर पाँच दलीय गठबन्धन सरकारले रेकर्ड कायम गरेको भन्दै जनताको बीचमा भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए । केपी ओली नेतृत्वको पुर्ववर्ती सरकारले अर्थतन्त्रको सबै सूचकमा सुधार गरेको तर बर्तमान सरकार अर्थतन्त्र ध्वस्त बनाउनेतर्फ उद्धत रहेको आरोप रिमालले लगाए ।  

पोलिट व्युरो सदस्य पोखरेलले फेरी सत्ताका लागि अस्थिरता निम्त्याउने खेल भैरहेको भन्दै त्यसलाई रोक्न आगामी निर्वाचन एमालेले जित्नुको विकल्प नरहेको बताए । एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव हिरा थोकर लगायतले मन्तव्य राखेका थिए । 

यही साउन २ र ३ गते सम्पन्न एमाले जिल्ला कमिटीको पूर्ण बैठकले संगठन शुदृढिकरण तथा शुद्धिकरण अभियान संचालन गर्ने निर्णय गरेको थियो । 

प्रशिक्षण भेलाले अविरल वर्षासँग आएको बाढि पहिरोले जिल्लाका बिभिन्न स्थानमा भौतिक क्षति पुर्याएको भन्दै पार्टीका सम्पूर्ण कमिटी, नेता र अगुवा कार्यकर्ताहरूलाई मानवीय उद्धारमा खट्न र पीडितलाई राहत र हौसला प्रदान गर्न निर्देशन दिएको उपाध्यक्ष मानन्धरले बताए । यसैगरी जोखिम क्षेत्रमा तीनै तहका सरकारलाई राहत र उद्धारका कार्यक्रम सञ्चालन गर्न भेलाले माग गरेको छ । 

बिभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई विनाकारण वर्खास्त गर्ने, निरन्तर चल्दै आएको नियम र विधिहरूलाई ध्वस्त बनाउने काम भैरहेको भन्दै एमालेले आपत्ती जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update