Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशसभा प्रभावहिन, संसद छलेर फेरी अध्यादेश ल्याउने तयारी

हेटौंडा - बागमती प्रदेशसभा निष्प्रभाबी जस्तै बनेको छ । राजनीतिक दलहरु सत्ताको झिनाझप्टीमा केन्द्रित हुँदा प्रदेशसभा गतिहिन बनेको हो । सरकारको नेतृत्व परिवर्तनका लागि गठबन्धनका नेताहरु लाग्दा प्रदेश संसदको काम ओझेलमा परेको छ । जसको असर विकास निर्माणदेखि नीति निर्माणसम्म परेको छ ।

सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच सरकारको नेतृत्वका लागि हानथाप हुँदा बागमती प्रदेशसभाको १० औं अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्नमै सिमित भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम समेत प्रतिपक्षीसँग सम्झौता गरेरमात्र सदनबाट पास गरेको थियो । प्रदेशसभाको अधिवेशन अन्तर्गत ३३ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सत्ताको खिचातानीका कारण ३३ पटक बसेको प्रदेशसभाको बैठक औपचारिकतामा मात्र सीमित भएको छ ।
जेठ १३ बाट सुरु भएको बजेट अधिवेशन सोमबार मध्यरातबाट प्रदेश प्रमुख यादव शर्माले अधिवेशन अन्त्य गरेका छन् । कानुन अभावका कारण सरकार सञ्चालनमा बाधा हुँदै आएको बखत प्रदेशसभा बैठक सरकारले अधिवेशन छलेर ल्याएका अध्यादेशमाथिको छलफलमै सीमित भएको थियो ।

संसद सचिवालयका अनुसार प्रदेशसभा बैठकले यो अधिवेशनमा ३ वटा मुल विधेयक पारित गरेको छ भने ३ वटा संशोधन विधेयक पारित गरेको छ । पारित भएका मुल विधेयकहरुमा विनियोजन–विधेयक–२०७८, आर्थिक–विधेयक–२०७७ र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । तीमध्ये आर्थिक र विनियोजन विधेयक सरकार सञ्चालनका लागि अनिवार्य विधेयक हुन् ।

त्यस्तै लामो समयदेखि सदनमा रहेको प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलपछि पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन कार्य सुरु गर्ने प्रक्रिया अघि बढाएको छ ।

यस अधिवेशनमा पारित भएका संशोधन विधेकहरुमा सञ्चार माध्यम व्यवस्थापन ऐन संशोधन गर्ने विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश विपद् व्यवस्थापन ऐन संशोधन गर्ने विधेयक छन् ।

त्यस्तै प्रदेशसभाको उक्त अधिवेशनको बैठकबाट विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पनि पास भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

फेरि अध्यादेश जारी गर्दै सरकार

सरकार सञ्चालनका क्रममा सदन छलेर ल्याइएका ५ मध्ये ४ वटा अध्यादेश फेल भएका छन् । संसद्को १० औं अधिवेशनको अवधिमा सरकारले सदनमा ५ वटा अध्यादेश र २ वटा संशोधन विधेयक दर्ता गराएको थियो । सरकारले दर्ता गराएका ५ अध्यादेशमध्ये एउटा पास हुँदा ४ वटाले कानुनको रुप लिन सकेनन् ।

यो अवधिमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशमात्र सदनबाट पास भएको हो भने अन्य ४ अध्यादेश फेल भएका छन् । अदालतमा विचाराधीन अवस्थामा रहेको र संविधानसँग बाझिएका कारण ४ वटा अध्यादेश तत्काललाई पास हुन नसकेको हो ।

सदनमा पेस भएर छलफलका लागि स्वीकृत भए पनि प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशले कानुनी रुप लिन सकेनन् ।

ती अध्यादेशमाथि छलफलका क्रममा धेरै त्रुटि भेटिएपछि थुप्रै संशोधन प्रस्ताव आएका थिए । त्यसैले ती विषयमा व्यापक छलफल गरेर पुनः सदनमा ल्याइने भएको हो । अदालतमा मुद्दा विचाराधीन रहेका कारण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सदनमा पेस हुनै सकेन ।

४ वटा अध्यादेश फेल भएपछि प्रदेश सरकार फेरि अध्यादेश ल्याउने तयारीमा जुटेको छ । सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार सरकारले फेल भएका अध्यादेश फेरि ल्याउने तयारी गरेको बताए ।

उनले सदनमा छलफलका लागि पर्याप्त समय नभएकाले ती अध्यादेश निष्क्रिय भएको भन्दै पुनः अध्यादेश ल्याउनुको विकल्प नरहेको बताए । उनका अनुसार सरकारले एक साताभित्रै पुनः अध्यादेश ल्याउने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update