चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनको रणनीति बनाउने भएको छ । आईतवार सदरमुकाम चरिकोटमा सुरु भएको जिल्ला कमिटीको पूर्ण बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षामा केन्द्रित छ । पहिलो दिन आईतवार जिल्लाका ९ स्थानीय तहमध्ये ६ पालिकाका पदाधिकारी, उम्मेदवार र वडाका प्रतिनिधिहरुले चुनावको समिक्षासहितको रिर्पोट बैठकमा प्रस्तुत गरेका छन् ।
जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र बैतेश्वर गाउँपालिकाको रिपोर्ट बैठकमा पेश भएको हो । भीमेश्वर नगरपालिका, कालिञ्चोक र विगु गाउँपालिकाको रिर्पोट सोमवार बस्ने बैठकमा प्रस्तुत हुने नेताहरुले जानकारी दिएका छन् ।
बैठकमा रिर्पोट प्रस्तुत गर्दै गाउँपालिका र वडाका नेताहरुले पार्टीभित्रको अन्तरविरोध र अन्तरघात, टिकट बितरणमा देखिएको समस्या, सत्तारुढ गठबन्धनले गरेको सत्ताको दुरुपयोग लगायतका कारण पार्टीले पराजय व्यहोर्नु परेको बताएका छन् । स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका ९ मध्ये जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा भीमेश्वर नगरपालिका, विगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख मात्रै जितेको थियो । जिल्लाका ७४ मध्ये २४ वटा वडा एमालेले जितेको थियो ।
आईतवारको बैठकमा एमाले जिरी नगरपालिका अध्यक्ष केशवकुमार कार्की, गौरीशंकर गाउँपालिका ईन्चार्ज सोयमबहादुर खड्का, अध्यक्ष जंग गुरुङ, तामाकोसी गाउँपालिका देवीप्रसाद फुँयाल, बैतेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार माधव घिमिर, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, शैलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर तामाङ, ईश्वर न्यौपाने लगायतले रिपोर्टिङ गरेका छन् । उनीहरुले आगामी निर्वाचनमा पार्टीभित्रको समस्या हल गरेर एकमना एकताका साथ पार्टी पंक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तह निर्वाचन सम्पन्न भएको दुई महिनापछि एमाले चुनावी परिणामको समिक्षामा जुटेको हो । एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकले चुनावको समिक्षासहित आगामी निर्वाचनको रणनीति तय गर्ने बताए ।
बैठकबाट स्थानीय तहका निर्वाचनमा भएको अन्तरघातबारे छानविन गर्न कार्यदल गठन गर्नुका साथै पार्टी सुदृढिकरण तथा शुद्धिकरण अभियानबारे कार्ययोजना तय गर्ने बताईएको छ ।
आईतवारको बैठकलाई सम्वोधन गर्दै एमाले वाग्मती प्रदेशका ईन्चार्ज काँशीनाथ अधिकारीले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् । बैठकमा एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पोलिट व्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत लगायतका नेताहरुको उपस्थिति छ ।