Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई तथा कक्षा ११ र १२ को परीक्षा सुचारु गर्न यस्तो विकल्पमा गृहकार्य

काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई तथा कक्षा ११ र १२ को परीक्षा संचालन गर्नसक्ने विकल्पमाथि गृहकार्य सुरु गरेको छ । परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर परीक्षा संचालन गर्ने लगायतका विकल्पहरुमाथि छलफल भैरहेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग आवश्यक विवरण माग गरेको छ ।

जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्न सक्नेगरी व्यवस्था मिलाउँदा थप गर्नुपर्ने केन्द्रको संख्याबारे विवरण मागेको हो । वोर्ड स्रोतका अनुसार यो विकल्प परीक्षा सञ्चालन गरिहाल्ने गरी चालिएको कदम भने होइन ।

कार्यालयले विवरण प्राप्त भएपछि परीक्षा सञ्चालनका लागि थप छलफल गर्ने जनाएको छ । केन्द्र थप्दा आवश्यक पर्ने जनशक्ति र खर्चको आँकलन गर्नका लागि आन्तरिक रूपमा परिपत्र गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० कामु नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परिपत्रमा इकाइहरूलाई ३ दिनभित्र विवरण पेस गर्न भनिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमका कारण गत चैत्र ६ गतेदेखि संचालन हुने भनिएको एसईई तथा ११ र १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update