Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भैरहेको जानकारी दिए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना धेरै छ ।’ 

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले जनाए । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालय नै आउनुपर्ने बाध्यता छ । बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन ।

कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै यसपटक एसईई परीक्षा संचालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ । यो वर्ष नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी छ ।

लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइन्छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update