Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण

चरिकोट – दोलखामा फेरी कोभिड–१९ को संक्रमण देखिन थालेको छ । एन्टिजिन परीक्षणका क्रममा जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेललाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या आएपछि नगर प्रमुख जिरेलको एन्टिजिन परीक्षण गरिएको थियो । सो क्रममा जिरेललाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नगरप्रमुख जिरेलले जिरी अस्प्तालमा एन्टिजिन परीक्षण गराएका थिए । उनले सामाजिक संजाल फेसवुक मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् । जिरेलले होम आईसोलेसनमा रहेको जानकारी दिएका छन् । उनी केही दिनअघि मात्रै काठमाण्डौं गएर जिल्ला फर्किएको बताईएको छ । 

कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावनाका बीच दोलखामा फेरी पहिलो पटक संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको दैनिक रिर्पोटमा समेत संक्रमण बढ्दो अवस्थामा छ । 

जिल्लामा कोरोना संक्रमणदर शुन्य भएपछि पीसीआर परीक्षण बन्द गरिएको थियो । यद्यपी सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा एन्टिजिन परीक्षण चालु राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उत्तमराज खनालले जिल्लामा दोस्रो लहर सकिएपछि संक्रमणको अवस्था शुन्य रहेपनि काठमाण्डौंमा संक्रमणदर बढिरहेकोले नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update