Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पुँजीगत खर्च ५७.२३ प्रतिशतमै सिमित, लक्ष्यभन्दा १६२ अर्ब कम

काठमाडौं  - हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यस आवका सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

तथ्यांकअनुसार यस आवमा सरकारले १ खर्ब ६२ अर्ब रुपैयाँ कम पुँजीगत बजेट खर्च गरेको छ । आर्थिक वर्षको प्रारम्भमा बजेट प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बाध्यता, निर्वाचनका कारण विकास निर्माणले प्राथमिकता नपाउनु र विकास खर्चका परम्परागत समस्या सल्ट्याउन नसक्दा पूँजीगत खर्चको खराब प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको हो ।

तथ्यांक अनुसार पछिल्लो ६ वर्षयता आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम विकास खर्च भएको छ । यसो हुनुमा कोरोना महामारी र त्यसले आर्थिक गतिविधिहरु ठप्प हुनु थियो । किनकी सो आवको चैतदेखि असारसम्म मुलुकले लकडाउन भोगेको थियो । नेपालमा पूँजीगत खर्च हुने मुख्य समय नै तेस्रो चौमासिक हो ।

असारमा मात्र ७९ अर्ब विकास खर्च

सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ । खासगरी आर्थिक वर्षको प्रारम्भिक दिनमा खर्चलाई गति दिन नसक्दा अन्ततः आर्थिक वर्षको अन्त्यमा खर्चमा चाप परेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम साता हुने खर्चमा केही कडाई गरेको थियो । यसले अन्तिम सातामा हुने भुक्तानी यस आवमा केही कमी आएको छ ।

असारमा मात्र २ खर्ब ६० अर्ब ६४ लाख बजेट खर्च

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आव २०७८/७९ मा सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बजेट खर्च गर्न सकेको छ । यो चालु, पूँजीगत र वित्तीय व्यवस्थासमेतको कुल खर्च हो । यो बजेट खर्च कुल लक्ष्यको ७९।३९ मात्र प्रगति हो । यस्तो खर्चमध्ये असारमा मात्र २६० अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

३१ जेठ २०७९ मा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च ३२ असार २०७९ मा पुग्दा १२ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको हो । यस आवमा सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको थियो । यसआवमा सरकारले ९ खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ चालु खर्च गर्न सकेको छ । यो लक्ष्यको ९०.२५ प्रतिशत हो । यस आवमा सरकारले १० खर्ब ६५ अर्ब २९ रकोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको थियो ।

आर्थिक वर्षको प्रारम्भिक दिनमा वित्तीय व्यवस्थामा उच्च प्रगति देखिए पनि अन्तिम तिर त्यसले गति लिन सकेन । जसले गर्दा वित्तीय व्यवस्थामा विनियोजित बजेटमा पनि मात्र ६२.५ प्रतिशत प्रगति भएको छ ।

तथ्यांक अनुसार यस आवमा सरकारले १ खर्ब १८ अर्ब ३९ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गरेको छ । वित्तीय व्यवस्थामा यस वर्ष १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य सरकारको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update