Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निलम्बित सिडिओ रिजालबिरुद्ध अदालतमा ५ अभियोग दर्ता

२० माघ, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तात्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध आरोप पत्र दायर गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएको तीन सातापछि अख्तियारले रिजालमाथि पाँचवटा मुद्दामा आरोप पत्र दायर गरेको हो ।

विशेष अदालत, काठमाडौंमा ६ लाख ५२ हजार ६ सय रुपियाँ बिगो कायम गरी रिजालमाथि कारबाहीको मागसहित आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रिजालले पदिय मर्यादा विपरित सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ नदिएमा पाँच वर्ष थुन्ने धम्की दिइ सेवाग्राहीबाट घुस लिएको अख्तिारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारको अनुसन्धानबाट रिजालले फरक फरक सेवाग्राहीसँग ५० हजार, ९० हजार, ३५ हजार र ४० हजार रुपियाँ घुस लिएको देखिएको छ । अनुगमन बिना कार्यालयमै बसेर सुरक्षा समितिको बैठक राखी अनियमित तरिकाले ७७ हजार ६ सय रुपियाँ पनि लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार रिजालले उक्त कुरा स्वीकार गरिसकेका छन् । आरोप पत्र सहित अख्तियारले रिजाललाई सोमवार विशेष अदालत, काठमाडौंमा बुझाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update