Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बजारमा मुल्य बृद्धिदरको नयाँ रेकर्ड, महंगी ६ वर्षयताकै उच्च विन्दुमा

काठमाण्डौं - बजारमा महँगी बृद्धिदरले नयाँ रेकर्ड कायम गरेको  छ । गत जेठमा मूल्य वृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्य वृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आर्थिक वर्ष २०७२÷७३ पछिको मुद्रास्फीति उच्च विन्दुमा पुगेको बताए ।  

२०७३ को भदौमा मूल्य वृद्धिदर ७.९ प्रतिशत थियो । त्यसपछि वाञ्चित सीमाभित्र रहँदै आएको मूल्य वृद्धिदर ६ वर्षपछि फेरि ८.५६ को विन्दुमा पुगेको हो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत आर्थिक वर्षको ११ महिनामा यस्तो मूल्य वृद्धिदर ४.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ ।

यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.२२ प्रतिशत छ । सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ भने मदिराजन्य पेय पदार्थको र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः ९.६८ र ९.१३ प्रतिशत रहेको छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तरगत यातायातमा २५.७९, शिक्षामा ११.६४ र फर्निसिङ तथा घरायसी उपकरण ८.२१ प्रतिशत पुगेको छ । यस्तै मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरुको उपसमूहको मुद्रास्फीति ८.२१ र ७.८४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update