बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् । बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।
उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् । बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । तर त्यसबेला कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।
१० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ । बुढीगंगामा वैशाख ३० को निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले पुनस् मतदान गराउने निर्णय गरेको थियो ।